आज बुधवारदेखि गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन अधीनस्थ कार्यालयहरूमा बोर्डहरू नेपाली भाषामा देखिन थालेको छ। स्मरण रहोस्, गत पहिलो वैशाखको महोत्सवमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका प्रमुख कार्यपाल अनित थापाले पहाड़को प्रत्येक कार्यालय, पसलहरूमा राखिने बोर्डहरूमा अनिवार्य रूपले नेपालीमा लेख्नुपर्ने आदेश जारी गरेका थिए। त्यसैलाई आधिकारिक बयान मानिलिएर आजदेखि नै प्राथमिक शिक्षा विभाग अधीनस्थ कार्यालयहरूका बोर्डहरू नेपाली भाषामा लेख्न थालिएको प्राथमिक शिक्षा प्रभारी सभासद एंव गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका उपाध्यक्ष राजेश चौहानले जनाएका छन्। आगामी साताभित्र प्राथमिक शिक्षा विभागको प्रत्येक कार्यालयका बोर्ड नेपाली भाषामा लेखिने कार्य सिद्धिने अनि त्यसपछि प्रत्येक प्राथमिक पाठशालामा यो अभियान आरम्भ गरिने तिनले बताए।
