बाबासितै कोठामा सुतिरहेकी सात महीनाकी छोरीको शव बिहानै बन्द कोठाबाट उद्धार गरिएको छ। यस घटनाले मैनागुड़ी ब्लकको सिङ्गीमारी क्षेत्रलाई स्तब्ध बनाएको छ। प्राप्त जानकारीअनुसार लगभग दुई वर्षअघि सिङ्गीमारी क्षेत्रका दीपक रायको विवाह रामसाई निवासी दीपा रायसित भएको थियो। सात महीनाअघि दीपाले छोरीलाई जन्म दिएकी थिइन्।
तर जन्मिएकी छोरी दिव्याङ्ग (विशेष चुनौती) थिइन्। छोरी जन्मिएपछि दीपा चार महीनादेखि रामसाईस्थित माइती घरमै बस्दै थिइन्। त्यहाँ बस्दा तिनले एकदिन पासो लगाएर आत्महत्या गरिन्। त्यसपछि छोरी बाबा दीपकसितग सिङ्गीमारीमा थिई। दीपक र परिवारका सदस्यहरूले छोरीको हेरचाह गर्थे।हिजो राति दीपक सधैँ जस्तै आफ्नी छोरीसित सुत्न कोठामा गएका थिए।
तर आज बिहान दीपक कोठाबाट ननिस्केपछि घरका सदस्यहरूले बोलाउन थाले। उत्तर नआएपछि दैलो फोरेर भित्र पस्दा दीपकले पासो लगाएर आत्महत्या गरेका रहेछन् अनि बच्ची बेहोश अवस्थामा ओछ्यानमै थिई। यस्तो दृश्य देखेर घरका सदस्यहरू अचम्मित भए। तुरुन्तै तिनीहरूले मैनागुड़ी पुलिसलाई खबर गरे। पुलिस आएपछि शवहरू अस्पताल पुऱ्याइयो जहाँ चिकित्सकहरूले दुवैलाई मृत घोषित गरे। त्यसपछि शवहरू पोस्टमर्टमका लागि पठाइएको छ।