दुर्लभ ब्लड ग्रुप बम्बेबारे व्यापक चर्चा

पोजेटिभ र नेगेटिभको अतिरिक्त बम्बे ब्लड ग्रुप नामक रक्तको एक फरक प्रकार पनि हुन्छ भनेर धेरैलाई थाहा नहुन सक्छ। उत्तर बङ्गालका तीनजनाको उपचारको क्रममा तिनीहरूको शरीरमा दुर्लभ बम्बे ग्रुपको रक्त पाइएपछि यस विषयमा व्यापक चर्चा आरम्भ भएको छ। तिनीहरूको उपचारका लागि मुम्बईबाट बम्बे ग्रुपको तीन युनिट रगत हवाई मार्गद्वारा उत्तर बङ्गाल मेडिकल कलेज औ अस्पतालको क्षेत्रीय ब्लड ब्याङ्कमा ल्याउनु परेको थियो। यस क्षेत्रमा कति व्यक्तिहरूको शरीरमा बम्बे ग्रुपको रगत छ भन्ने कुनै तथ्याङ्क उपलब्ध नभएकाले अब यसबारे प्रश्न उठ्न थालेको छ। यस्तो अवस्थामा बम्बे ग्रुपको रगतका लागि तथ्याङ्क सङ्कलन गर्ने विषयमा मेडिकल ब्लड ब्याङ्कका अधिकारीहरूले छलफल गरिरहेका छन्।
ब्लड ब्याङ्कका निर्देशक डा. मृदुमय दासले भने, मेरो लामो कार्यकालमा मैले धेरै रगतका नमुनाहरूमाथि काम गरेको छु। तर बम्बे ग्रुपको रगत भेटेको थिइनँ। अहिले जसको शरीरमा यो रगत भेटिएको छ तिनको नाम, ठेगाना तथा सम्पूर्ण जानकारी हामी सङ्ग्रह गरिरहेका छौँ। साथै यो रगत कुन-कसको शरीरमा हुन सक्छ र कसरी त्यसको पहिचान गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल गरिनेछ। तर लाखौँ मानिसमध्ये कोही दुर्लभ रगत समूहका हुन सक्छन् भन्ने निर्धारण गर्न गाह्रो हुने तिनले स्वीकार गरेका छन्। तिनले थप भने, यस क्षेत्रमा यस्ता रगत समूहका मानिसहरू हुन सक्छन् भन्ने हामीलाई अनुमान थिएन। यदि यस्तो रगत आवश्यक परे त्यसलाई कसरी उपलब्ध गराउने भन्ने विषयमा पनि छलफल भइरहेको छ।
लगभग 10 लाख व्यक्तिमध्ये एकजनाको शरीरमा मात्र यो बम्बे समूहको रगत पाइने सम्भावना हुन्छ। सामान्यत सरकारी ब्लड ब्याङ्कहरूमा रगत अभाव भइरहन्छ। पोजेटिभ ग्रुपको रगत पाइए पनि नेगेटिभ ग्रुपको रगत पाउन कठिन हुन्छ। केही संस्थाहरू नेगेटिभ ब्लड ग्रुपसित सम्बन्धित काम गर्छन्। बम्बे ग्रुपको रगत मुम्बईबाट ल्याउने काममा जलपाइगढ़ी निवासी पम्पा सूत्रधारको ठूलो भूमिका रह्यो। तिनले भनिन्, जसको शरीरमा बम्बे ग्रुपको रगत भेटिएको छ ती सबै चियाबारीका वासिन्दा हुन्। तीमध्ये केही आदिवासी समुदायका पनि छन्। चियाबारीका अधिकांश मानिसहरूलाई आफ्नो रगत समूहबारे थाहा हुँदैन। यस्तो अवस्थामा यदि यस क्षेत्रमा रगत परीक्षण शिविरहरू सञ्चालन गरिए दुर्लभ रगत समूहको पहिचान गर्न सकिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *