लुम्बिनी प्रदेशसभाको सांसदहरूले आर्थिक तथा सामाजिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
लुम्बिनी प्रदेशसभाका बैठकमा सां)सद् दिलकुमारी बुढाले रुकुम पूर्वमा धेरै विकास योजना अलपत्र परेको बताइन् । उनले सामाजिक विकास डिभिजनअन्तर्गतका विद्यालय भवन निर्माण रोकिएको र मन्त्रालयमा पटकपटक पहल गर्दा पनि बजेट विनियोजन नभएको बताउँदै कार्यशैली परिवर्तन गर्न आवश्यक रहेको धारणा राखिन् ।
सांसद् भण्डारीलाल अहिरले बजेटका कमजोरी सच्याउन र काम नगर्ने कर्मचारीलाई हटाउन सरकारलाई सुझाव दिए । यस्तै सञ्जुकुमारी चौधरीले स्वास्थ्यमा पहुँच र नागरिकलाई आत्मसम्मानसहित बाँच्न पाउने अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिइन् ।
अर्का सांसद् अर्जुनकुमार केसीले कानुन र विधिअनुसार काम गर्न सरकारलाई आग्रह गरे भने तारा थापाले राप्ती–४ मा भएको कुटपिटपछि हत्या घटनामा कारबाही प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराइन् । उनले बाढीपहिरोबाट विस्थापितहरूको पुनः स्थापनामा सरकारले ध्यान दिनुपर्ने बताइन् ।
यसैगरी, अम्बिका काफ्लेले युवालाई देशमै रोजगारी सिर्जना गर्न सरकारको जिम्मेवारी रहेको बताइन् । अर्का प्रदेशसभा सदस्य नवराज लामिछानेले कपिलवस्तुमा प्रहरीको गोली लागेर एक युवाको मृत्यु भएको घटनामा सङ्घीय सरकारको ध्यानाकर्षण गराए ।
बैठकमा वन तथा वातावरणमन्त्री देवकरणप्रसाद कलवारले ‘प्रदेश वन ऐन, २०७८ लाई संशोधन गर्न बनेको विधेयक’माथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरे।
