महानन्दा नदीमा मरेका माछा उठाउने होड़

राति नौ बजेको थियो। मङ्गलवार राति अचानक एयर भ्यु मोड़नजिकै महानन्दा नदीमा सयौँ मानिसहरूको भीड़ जम्मा भयो। कसैले हातमा प्लास्टिकको थैला त कसैले जार बोकेका थिए। सबैजना नदीको कालो र धमिलो पानीमा केही खोजिरहेका थिए। कसैले त टर्च बालेर पानीभित्र हेर्ने प्रयास गरिरहेका थिए। नजिक जाँदा थाहा लाग्यो कि सबैको थैलामा माछा भरिएको छ। अचानक नदीमा असङ्ख्य मृत माछा सतहमा देखिन थालेको बताइएको छ। ती माछा टिप्न नदीमा प्रतिस्पर्धा नै चलिरहेको थियो। कोभन्दा कसले धेरै माछा उठाउने होड़बाजी नै चलेको थियो।
खबर पाएर एकपल्ट पुलिसले पनि आएर हेर्योह। तर टाढ़ैबाट हेरेर फर्कियो। तर यी मरेका माछा खाँदा स्वास्थ्यमा गम्भीर प्रभाव पर्न सक्ने चिकित्सकहरूले चेताउनी दिएका छन्। माछा मर्नुको कारण थाहा नपाई सेवन गर्नु हानिकारक हुन सक्छ। सिलगढ़ी जिल्ला अस्पतालका चिकित्सक कौशिक सरकारले भने, अचानक माछाहरू किन मरे थाहा पाउन आवश्यक छ। यस्ता मरेका माछा खाँदा स्वास्थ्यलाई जोखिम हुन्छ। सिलगढ़ीका उप-मेयर रञ्जन सरकारले भने, बुधवार बिहानै नगर निगमको वातावरण विभागको टोली घटनास्थल पुग्नेछ। राति पनि हामी स्थिति बुझ्ने प्रयास गरिरहेका छौँ।
महानन्दामा यसअघि पनि पटक-पटक मरेका माछा सतहमा तैरिएको देखिएको हो। विशेष गरी गर्मीमा यस्तो समस्या बढ्ने गरेको छ। सिलगढ़ी शहरका विभिन्न नालाबाट आउने फोहोर पानी सिधै महानन्दामा मिसिन्छ। गर्मीमा नदीको पानी कम्ती हुँदा नालीको फोहोर पानी मिसिँदा प्रदूषणको मात्रा धेरै बढ्छ। यसले गर्दा पानीमा जैविक अक्सिजनको सन्तुलन बिग्रिन्छ र परिणाम स्वरूप माछा तथा अन्य जलचर प्राणी अनि किराहरू मर्छन्। यसपल्ट पनि त्यस्तै भएको हुन सक्ने आशङ्का गरिएको छ। कारण मरेका माछा देखिँदा नदीको पानी कालो र धमिलो थियो। साथै कसैले माछा मार्न रसायन प्रयोग गर्योे कि भन्ने आशङ्का पनि वातावरण प्रेमीहरूले व्यक्त गरेका छन्। त्यसैले तिनीहरूले मरेका माछा सेवन नगर्न सबैलाई अनुरोध गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *