नगरपालिका सञ्चालनमा अध्यक्ष जत्तिकै महत्त्वपूर्ण हुन्छ उपाध्यक्षको पद। सरकारी नियमअनुसार अध्यक्षले पदभार ग्रहण गरेको एक महीनाभित्र उपाध्यक्षको नाम घोषणा गर्नुपर्छ। तर माल नगरपालिकाको नयाँ अध्यक्षले शपथ लिएको तीन महीना बितिसक्दा पनि उपाध्यक्षको पद अझै रिक्त छ। नगरपालिकाका धेरैजसो पार्षदहरूले चिन्ता व्यक्त गर्दै उपाध्यक्ष पद नै हटाइने हो कि भन्ने आशङ्का व्यक्त गरेका छन्। यस्तो भए धेरैजनाको उपाध्यक्ष बन्ने सपना अधुरो रहन सक्छ।
अध्यक्ष पदमा देखिएको अन्योल हटाउन चार महीनाभन्दा अधिक समय लाग्दा उपाध्यक्षको नाम घोषणा गर्न तीन महीना लागेको विषयमा विपक्षीहरू पनि आलोचना गरिरहेका छन्। यस घटनामा मन्त्री बुलु चिकबड़ाइकको भूमिकाबारे समेत प्रश्न उठिरहेको छ किनभने नगरपालिका अनुगमनको सम्पूर्ण जिम्मावारी तिनकै काँधमा थियो। त्यसैले धेरै पार्षदहरूले मन्त्रीप्रति असन्तुष्टि जनाएका छन्।विभिन्न भ्रष्टाचारको आरोपमा पूर्व नगरपालिका अध्यक्ष स्वपन साहालाई गत वर्ष सेप्टेम्बरमा पार्टीबाट निलम्बन गरिए पनि तिनी पदमै थिए। पार्टीको दबाउपछि तिनले 31 जनवरीमा बोर्ड मिटिङ बोलाएर राजीनामा दिए। तृणमूल कङ्ग्रेसको राज्य नेतृत्वको निर्देशनमा 7 फरवरीमा नगरपालिका बोर्ड अफ काउन्सिलर्सको बैठकमा सर्वसम्मतिले उत्पल भादुड़ीलाई नगरपालिका अध्यक्ष पदमा चयन गरियो।
17 फरवरीमा उत्पल भादुड़ीले माल सबडिभिजन कार्यालयमा शपथ लिए। राज्यको नगर ऐनअनुसार 17 फरवरीदेखि 30 दिनभित्र उपाध्यक्ष मनोनयन गरिनुपर्ने प्रावधान छ। तर उपाध्यक्षको पदबारे माल नगरपालिकाका पार्षदहरूबीच पछिल्ला केही महीनामा प्रश्न र असन्तुष्टि बढ़ेको छ। वार्ड नं. 7 का पार्षद तथा सत्तारूढ़ दलका अमिताभ घोषले उपाध्यक्ष पद नै हटाइने जोखिम रहेको भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेका छन्। सोमवार सत्तारूढ़ दलकै अर्का पार्षदले भने, उपाध्यक्ष पदका लागि वार्ड नं. 8 की पार्षद मोनिका साहाको नाम चर्चामा आएको थियो। तर मोनिका साहाले भनिन्, यस विषयमा हामीले केही भन्नु उपयुक्त हुँदैन। हामी केवल पार्टीका समर्थक हौँ। अर्कातर्फ युवा पार्षद सुरजित देवनाथले भने, यो विषय जिल्ला स्तरका नेताहरू र मन्त्री बुलु चिकबड़ाइकले हेर्नुपर्ने हो। तिनीहरूले चाहे यो जटिलता समाधान हुन सक्छ।