मुख्यमन्त्री ममता ब्यानर्जी सोमवार उत्तर बङ्गालको भ्रमणमा आउने छन्। तिनको चार दिने उत्तर बङ्गाल भ्रमण निकै महत्त्वपूर्ण हुने बताइएको छ। सिलगढ़ी र सम्पूर्ण उत्तर बङ्गालमा औद्योगिक विकासले गति लिने अनुमान गरिएको छ। उत्तर बङ्गालका उद्योगपति ममता ब्यानर्जीको सिलगढ़ी आगमनलाई प्रतीक्षा गरिरहेका छन्। जानकारहरूअनुसार मुख्यमन्त्रीको यस यात्रालाई आगामी 2026 को विधानसभा चुनाउको तयारीको रूपमा हेरिएको छ। तिनको मुख्य ध्यान उत्तर बङ्गालमा कानून तथा व्यवस्थाको स्थिति र औद्योगिक विकासमा केन्द्रित रहनेछ। पार्टी सूत्रअनुसार मुख्यमन्त्रीको उत्तर बङ्गाल भ्रमण निकै व्यस्त हुनेछ।
हालै मुख्यमन्त्री ममता ब्यानर्जीले आतङ्कवादको मुद्दामा भारत सरकारलाई आफ्नो पार्टीको पूर्ण समर्थन जनाएकी थिइन्। साथै तिनले भारतीय सेनाको पनि निकै प्रशंसा गरेकी थिइन्। राज्यमा निलम्बित कर्मचारी र शिक्षकहरूलाई प्रत्येक महीनाको रूपमा 20000 देखि 25000 सम्म नियमित अनुदान दिने निर्णय तिनले लिएकी छन्। तिनले थुप्रै अन्य घोषणा पनि गरेकी छन्। तीमध्ये कोलकाताको न्यू टाउन क्षेत्रमा 25 ऐकर जमीनमा आईआईटीईसी नामक एउटा विश्व स्तरीय प्रविधि पार्क निर्माण गर्ने, कोचबिहारका एकजना किसानलाई बग्ङ्लादेशबाट फर्काउने घोषणा र भाजपाद्वारा आयोजित तिरङ्गा यात्राको प्रत्युत्तरस्वरूप 17 र 18 मईमा राज्यव्यापी राष्ट्रवादी ऱ्यालीको घोषणा आदि प्रमुख छन्।
मुख्यमन्त्री ममता ब्यानर्जी 20 मईमा ओदलाबारी जाने कार्यक्रम छ। तिनले त्यहाँ विभिन्न सरकारी योजनाहरूको उद्घाटन गर्नेछिन्। ओदलाबारीका वासिन्दा पनि आशाका दृष्टिले तिनको प्रतीक्षा गरिरहेका छन्। यहाँ धेरै परियोजनाहरू तयार भइसकेका छन्, केही तयार हुँदैछन् भने केही योजनाहरूको शिलान्यास पनि गरिनेछ। जलपाइगढ़ीका वासिन्दाहरूलाई यसबाट राम्रै लाभ हुने अपेक्षा गरिएको छ। 21 मईमा मुख्यमन्त्रीले सिलगढ़ीको उत्तरकन्या भवनमा प्रशासनिक बैठक गर्नेछन्। मुख्यमन्त्रीले प्रशासनिक अधिकारीहरूलाई कानून र सुव्यवस्थाको स्थितिबारे केही महत्त्वपूर्ण सल्लाह दिने सम्भावना छ। यस बैठकमा दार्जीलिङ, कालेबुङ, कोचबिहार, जलपाइगढ़ी र अलिपुरद्वार जिल्लाका सबै अधिकारीहरू उपस्थित हुनेछन् जबकि उत्तर दिनाजपुर अनि दक्षिण दिनाजपुर र मालदाका अधिकारीहरूले भर्चुअल रूपमा सहभागिता जनाउनेछन्।सूत्रहरूअनुसार मुख्यमन्त्री ममता ब्यानर्जी उत्तर बङ्गालका विकास योजनाहरूमा रहेका प्रशासनिक चुनौतीहरू तथा भावी योजनाहरूमा अधिकारीहरूलाई निर्देशन मात्र नदिई तोकिएको समयभित्र कार्य सम्पन्न गर्नुपर्ने अपेक्षा पनि राख्नेछिन्। तिनको उत्तर बङ्गाल भ्रमणको सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको सिनर्जी कार्यक्रम हो जसमार्फत सिलगढ़ी र उत्तर बङ्गालमा औद्योगिक लगानीको मार्ग प्रशस्त हुनेछ। आगामी 22 मईमा मुख्यमन्त्री पुन: कोलकाता फर्किनेछिन्।
