शुक्रवार अलिपुरद्वारदेखि सिटोङ लाटपञ्चर घुम्न आइरहेको बेला एउटा वाहन कर्मठको पैह्रोमा दुर्घटनाग्रस्त भएको छ। दुर्घटनामा परेर एकजनाको अवस्था गम्भीर बनेको बताइए पनि बाँकी यात्रीलाई उस्तो चोटपटक नलागेको बताइएक छ। स्थानीय सूत्रबाट थाहा लागेअनुसार पैह्रोमा सड़क निकै अप्ठ्यारो हुनाले उकालो गइरहेको वाहन एक्कासि पछिल्तिर सर्दा यो दुर्घटना भयो। त्यहाँ निर्माण कार्य चलिरहेको हुनाले सड़क किनारमा बनाइएको ढुङ्गाको संरचनाले वाहन सड़कदेखि पैह्रो खस्न जोगायो नत्र ठूलो ज्यानमालको क्षति हुने थियो।
ज्ञात रहोस् कालीझोड़ादेखि महल्दीरामसम्म सड़क निर्माण कार्य चलिरहेको छ। तर कालीझोड़ादेखि केही माथि कर्मठस्थित पैह्रोमा भने सड़कको अवस्था निकै भयावह छ। फेरि त्यसै ठाउँमा निर्माण कार्य पनि भएको छैन। पैह्रोमा सड़कको अवस्था यति भयावह छ कि त्यो सड़क भएर आउजाउ गर्ने जो कोही डराउँछ। यस पैह्रोको कारण सिटोङ लाटपञ्चरलाई गन्तव्य बनाएर घुम्न आउने पर्यटकहरूका लागि जोखिमपूर्ण देखिन्छ। पैह्रोमा सड़कको अवस्था दशकौँदेखि ज्यूको त्यू छ। अब क्षेत्रको पर्यटनमाथि यस पैह्रोले नकारात्मक प्रभाव पार्ने सम्भावना बढ़ेर गएको छ।
