खासै राम्रो व्यापार भएन भूटिया मार्केटमा

शरद ऋतुको आकाशमा फाटेका कपास जस्तै बादलहरू हराउन नपाउँदै नै तिनीहरूको उपस्थिति देखिन्छ। उत्सव सकिएपछि जब सबैको मुहार मलीन हुन्छ तब तिनीहरूको अनुहारमा हल्का मुस्कान देखिन्थ्यो। समयसँगै त्यो मुस्कान फराकिलो हुन्थ्यो। यति दिनसम्म यही नै चिरस्थायी थियो। तर यसपल्ट त्यो मुस्कान समयमै हरायो, शीतसितै।
सिलगढ़ीको जाड़ोको व्यापार भनेकै भूटिया मार्केट हो। केवल सिलगढ़ी मात्र होइन कुनै समय जलपाइगढ़ी, इस्लामपुरका वासिन्दाहरू पनि यहाँ न्यानो कपड़ाको खोजीमा आउँथे। पहाड़ी भूटिया समुदायका मानिसहरूले बनाएका स्वेटर, टोपी, मफलर किन्न मानिसहरूको भीड़ लाग्थ्यो। समयसितै किन्नेहरूको सङ्ख्या घटे पनि तिनीहरू न्यानो कपड़ा लिएर आउन छाड़ेका भने छैनन्। तिनीहरू यहाँका स्थानीय व्यापारीहरूसितै घुलमिल भएका छन्।

तर यो वर्ष न त बजारमा उस्तो भीड़ लाग्यो न त व्यापारीहरूले राम्रो नाफा कमाउन सके। प्रकृतिले आफ्नै तालमा सबै उल्टापल्टा गरिदियो। किन कठ्याङ्ग्रिने जाड़ो परेन यसपालि? किन जाड़ो चाँड़ै अन्त्य भयो? जलवायु परिवर्तनको प्रभाव कति छ? यी सबै तिनीहरू बुझ्दैनन्, बुझ्न पनि चाहँदैनन्। तिनीहरू त केवल जाड़ो सकिँदा खुशी भएर घर फर्कन चाहन्छन्। तर यस सिजन व्यापार कस्तो रह्यो भन्ने प्रश्नमा तिनीहरूको अनुहारमा केवल निराशा देखिन्छ। यहाँका न्यानो कपड़ा व्यापारी सुमित सरकारले भने, “गह्रौँ कपड़ाहरू त बिक्री नै भएनन्। केवल हल्का स्वेटरहरू मात्र बिक्री भए किनभने जाड़ो त्यति कठ्याङ्ग्रिने परेन।” आफ्नो पुरानो अनुभव बाँड्दै व्यापारी रजनी गुरुङले भनिन्, “पहिले यस्तो समय थियो जब हामी भूटिया मार्केटको व्यापारका लागि उत्साहित हुन्थ्यौँ। यहाँ आएरै स्वेटर, मफलर बुन्ने काम चल्थ्यो। तर यसपल्ट जुन सामान लिएर आएका थियौँ ती पनि सबै बेच्न सकेनौँ।” बजार आरम्भ हुँदा थोरै व्यापार भए पनि पछि खासै केही नभएको धेरै व्यापारीहरू बताउँछन्। व्यापारी सनीले भने, “यस्तै अवस्था रहिरहे भूटिया मार्केट कति दिन टिक्ला भन्ने शङ्का छ।” मफलर खोज्दै यहाँ आएकी नन्दिता दत्तले भनिन्, “पहिले प्रत्येक वर्ष मानिसहरूले यस बजारबाट केही न केही किन्थे। तर यसपालि जाड़ो नै खासै परेन किन आउँथे? मलाई एउटा स्कार्फ चाहिएको थियो, त्यसैले आएँ।”

यो वर्ष कति घाटा–नाफा भयो? व्यापारीहरूअनुसार, गत वर्षको तुलनामा व्यापार 50% मात्र भयो। केही व्यापारीहरूले भने, “कर्मचारी खर्च, भाड़ा उठाउन पनि गाह्रो भयो। 40 हजार रुपियाँ नाफा भयो कि भएन, थाहा छैन।” व्यापारी सरिता छेत्रीले भनिन्, “आफ्नो खर्च उठ्यो भने पनि धेरै भयो। अघिल्लो वर्षको तुलनामा झण्डै 60% बिक्री घटेको छ।” व्यापारी अतुल प्रसादले भने, “यति महीना यहाँ बिताएँ, तर प्रति महीना 20 हजार रुपियाँ नाफा भयो कि भएन, थाहा छैन।” व्यापारी राजा साहाले भने, “यो वर्ष एकदमै खराब गयो। यदि पछिल्लो पाँच वर्षको कुरा गरौँ भने प्रत्येक वर्ष लगभग 10% व्यापार घटिरहेको छ।” एउटा समय थियो जब जाड़ोको नाम सुन्दा नै भूटिया मार्केटबाट न्यानो कपड़ा किन्न आउँथे मानिसहरू। तर असमयमै जाड़ोको बिदाइसितै अनलाइन किनमेलको मार पनि व्यापारीहरूमाथि परिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *