न्यू जलपाइगढ़ी स्टेशनबाट करोड़ौँको बर्मा टिक काठ जफत

भारतीय रेलमार्ग प्रयोग गरी लाखौँ रुपियाँ बराबरको बर्मा टिक काठ तस्करीको घटना न्यू जलपाइगढ़ी स्टेशनबाट उदाङ्गो भएको छ। आसामबाट हाउड़ा गइरहेको एउटा मालगाडी रेल न्यू जलपाइगढ़ी स्टेशनको प्लेटफर्म नम्बर 2 मा पुग्नेबित्तिकै गुप्त सूचनाको आधारमा जीआरपी र आरपीएफको संयुक्त टोलीले खोजी अभियान चलायो।
खोजी अभियानमा फेला परेको दृश्य आश्चर्यजनक थियो। एकपछि अर्को गर्दै मालवाहक रेलको बग्गी खोल्दै जाँदा दुई-तीनवटा गरेर धेरै अनि ठूल्ठूला बर्मा टिक काठका लट्ठा फेला पर्दै गए। प्रत्येक लट्ठाको अनुमानित मूल्य लाखौँ रुपियाँको रहेको बताइएको छ। कूल मिलाएर करोड़ौँ रुपियाँ बराबरको काठ जफत गरिएको जनाइएको छ।
यस घटनाले भारतीय रेलको निगरानी र सुरक्षा व्यवस्थामाथि पनि ठूलो प्रश्न उठाएको छ। रेल कर्मचारीको निगरानीबाट उम्किएर तस्करहरूले यति ठूलो परिमाणमा चोरीको काठ रेलको मालवाहक बग्गीमा कसरी चढ़ाउन सके? जीआरपी र आरपीएफ सूत्रअनुसार उक्त मालगाडी आसामबाट हाउड़ातर्फ गइरहेको थियो। हाउड़ा स्टेशन पुग्नअघि कुनै निश्चित स्टपेजबाट काठ र अन्य सामग्री झारेर तस्करी गर्ने योजना बनाइएको हुन सक्ने अनुमान लगाइएको छ। घटना सार्वजनिक भएपछि जीआरपी र आरपीएफले संयुक्त रूपमा जाँछ आरम्भ गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *