सिलगढ़ी डकैतीमा बिहारको प्रवेश

सिलगढ़ीको गहना पसलमा भएको डकैतीको घटनाको जाँच जति जति अघि बढ़िरहेको छ त्यति त्यति नै चकित पार्ने तथ्यहरू बाहिर आइरहेका छन्। आइतवार सिलगढ़ीमा भएको यस दुस्साहसी डकैतीमा संलग्न समूहको नेतृत्व बिहारका एक प्रभावशाली राजनीतिज्ञले गरिरहेको जाँचकर्ताहरूको सूत्रबाट थाहा लागेको छ। यिनै प्रभावशाली व्यक्तिले यस समूहलाई आर्थिक सहयोगद्वारा सञ्चालन गर्ने सूत्रको भनाइ छ। सिलगढ़ी कमिश्नरेट पुलिसले डकैतीमा पक्राउ परेका दुई आरोपी मोहम्मद शाफिक खान र मोहम्मद शामशादलाई पटक-पटक केरकार गर्दा थाहा पाएको जानकारीअनुसार समूहका सदस्यहरू आठ महीनाअघि नै सिलगढ़ी आएका थिए। समूहको एक मुखियाले बिहारबाट नियमित आवतजावत गरेर सम्पूर्ण योजना बनाउँथ्यो। उक्त मुखियामार्फत नै ती प्रभावशाली नेताको पैसा समूहका सदस्यहरूसम्म पुग्थ्यो। डकैतीका लागि तिनैले हिलकार्ट रोडको पसल छानेको थियो। तिनको योजनामै सम्पूर्ण डकैती सञ्चालन गरिएको थियो।

सबै योजना तयार गरेपछि समूहका सदस्यहरूले फाँसीदेवा क्षेत्रमा कोठा भाड़ामा लिएर बस्न थालेका जाँचकर्ताहरूले पत्तो लगाएका छन्। त्यहाँबाट तिनीहरूले नियमित रूपमा गहना पसलमा नजर राख्न थालेका थिए। डकैतीपछि जब पुलिसले फाँसीदेवामा छापा मार्योट तर त्यहाँ समूहका सदस्यहरू फेला परेनन्। सोमवार पक्राउ परेका दुई अपराधीलाई सिलगढ़ी महकुमा न्यायालयमा प्रस्तुत गरी पुलिसले सात दिनको रिमाण्डमा लिएको छ। पुलिस कमिश्नरेट सी. सुधाकरले बिहान सिलगढ़ी थाना पुगेर दुवै अपराधीहरूलाई लामो समयसम्म सोधपुछ गरे। डीसीपी (पूर्व) राकेश सिंह पनि पछि त्यहाँ पुगे। तिनीहरूले आरोपीहरूलाई सोधपुछ गरे साथै लामो समय सीसीटीभी फूटेज पनि जाँच गरे।डकैतीमा संलग्न अन्य अपराधीहरूको अनुहार सामाजिक सञ्जालमा भाइरल भएको छ। ती तस्बिरहरू मानिसहरूको मोबाइलदेखि मोबाइल फोनमा पुगिरहेका छन्। तर घटनाको 24 घण्टापछि पनि अपराधी समूहका अन्य सदस्यहरू पक्राउ नपरेपछि प्रश्न उठ्न थालेको छ। तिनीहरूले यति लामो समयदेखि शहरमा रेकी गरिरहेका हुँदा पनि पुलिसले कसरी त्यसबारे थाहा पाउन सकेन भन्ने विषयमा पनि शङ्का उठिरहेको छ। यसबारे प्रश्न गर्दा पुलिस कमिश्नरेटले “जाँचपछि सबै कुरा बताउनेछौँ” भनेर उत्तर दिए।

सिलगढ़ीमा डकैती गर्ने यो समूह देशका विभिन्न भागका गहना पसलहरूमा डकैतीमा संलग्न रहँदै आएको जाँचबाट थाहा लागेको छ। सजिलै डकैती गर्ने समूहमा महिला सदस्यहरूलाई पनि सामेल गराइन्छ। हिलकार्ट रोडको डकैतीमा पनि ती दुई महिलाहरूलाई भाड़ामा ल्याइएको जाँचकर्ताहरूलाई थाहा लागेको छ। लुटपाट सकिएपछि ती महिलाहरूको काम पूर्ण रूपले गायब हुनु हो। सिलगढ़ीको डकैतीपछि पनि ती महिलाहरू पूर्ण रूपले गायब भएका छन्। तिनीहरू कहाँ छन् भन्नेबारे पुलिसले केही पत्तो लगाउन सकेको छैन। तिनीहरूले बस वा रेलमार्फत शहर छोड़िसकेका जाँचकर्ताहरूको अनुमान छ। तिनीहरू दिल्लीतर्फ गएका हुन सक्ने अनुमान गरिएको छ। त्यसैले दिल्लीमा खोजी गर्नका लागि पुलिस टोली पठाइँदैछ। समूहका अन्य सदस्यहरूले पनि पहिले नै अन्य राज्यहरूमा सुइँकुच्चा ठोकिसकेका जाँचकर्ताहरूको विश्वास छ र तिनीहरूको पनि खोजी जारी छ।समूहको सञ्चालन तरिका थाहा पाएपछि जाँचकर्ताहरू चकित छन्। समूहका सदस्यहरूविरुद्ध देशका विभिन्न स्थानहरूमा डकैतीका मुद्दा छन्। तिनीहरूले थुप्रै स्थानमा जेलसमेत काटेका हुन्। जेलमा रहँदा तिनीहरूको चिनाजाना भएको र त्यसैको आधारमा यो समूह गठन भएको हो। समूह मुख्य रूपले बिहारको भए पनि देशभरिका अपराधीहरूलाई भाडामा लिएर सदस्य बनाइन्छ। राजस्थानको शाफिक खानलाई पनि त्यसरी यस समूहमा ल्याइएको थियो। सोमवार पुलिस र गुप्तचरको टोली सिलगढ़ीको उक्त गहना पसलमा पुगेका थिए। पछिल्लो केही महीनामा पसल वरिपरि कुनै शङ्कास्पद गतिविधि देखिएको थियो कि भनी तिनीहरूले वरिपरिका व्यापारीहरूलाई सोधपुछ गरे। स्थानीय व्यापारी अभिनव अग्रवालले भने, “हामीले केही देखेनौँ। देखेको भए पहिल्यै सतर्क भइसकेका हुन्थ्यौँ।” त्यसबाट कुनै छनक नपाओस् भनेर सम्पूर्ण योजना अत्यन्त चतुराईसित बनाइएको जाँचकर्ताहरूले अनुमान गरेका छन्। यस घटनामा बिहारका उक्त प्रभावशाली नेताको चालाक योजना प्रष्ट देखिएको जाँचकर्ताहरूले ठानेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *