सब्जीको मूल्य नियन्त्रण गर्न आज फेरि अभियान

आलु र प्याजको मूल्य नियन्त्रण गर्न शनिवार सिलगढ़ीका मेयर गौतम देबले प्रशासनलाई बैठकमा निर्देश दिएका थिए। तिनले आइतवारदेखि बजारमा 32 रुपियाँ प्रति किलो ज्योति आलु उपलब्ध हुने बताएका थिए। तर आइतबार बिहानदेखि सिलगढ़ीका विभिन्न बजारहरूमा आलु र प्याज मात्र होइन सबै सब्जीको मूल्य आकाशिएको देखियो। बजारमा 35 रुपियाँभन्दा कम्तीमा कुनै आलु उपलब्ध थिएन। नयाँ आलु आएपछि मूल्य घट्ने अपेक्षा गरिएको थियो। तर नयाँ आलु पनि 50 रुपियाँ प्रति किलोमा बिक्री भइरहेको थियो। यसले गर्दा सर्वसाधारण समस्यामा परेका छन्। प्रशासनले एसी कोठामा बसेर मूल्य घटाउने आदेश दिएर मात्र आफ्नो दायित्व पूरा गरिरहेको सर्वसाधारणको गुनासो छ। तर बजारमा सर्वसाधारणले आलु, प्याजदेखि अन्य सब्जी महँगो मूल्यमा किन्नुपर्ने बाध्यता छ।

मेयर गौतम देवले भने, मैले यस विषयमा प्रशासनसँग कुराकानी गरेको छु। पूरै विषय हेरिँदैछ। टास्क फोर्सका एकजना अधिकारी र सिलगढ़ी नियन्त्रित बजारका सचिव अनुपम मैत्रले भने, मूल्य नियन्त्रण गर्न सोमवारदेखि बजारमा अभियान आरम्भ गरिनेछ। आइतवार सिलगढ़ीको बिधान मार्केट, चम्पासारी, रवीन्द्रनगर, फूलेश्वरी र शान्तिनगर बजारमा घुम्दा कुनै पनि बजारमा ज्योति आलुको मूल्य 35 रुपियाँभन्दा कम्ती पाइएन। नयाँ आलु 50 रुपियाँमा र भुटानी आलु 60 रुपियाँ प्रति किलोमा बिक्री भइरहेको थियो। नयाँ प्याज 50 रुपियाँ र नासिकको प्याज 80 रुपियाँ प्रति किलोमा बिक्री भइरहेको थियो।

थुप्रै बजारमा टमाटर 80 रुपियाँ, बोडी 120 रुपियाँ, गाजर ८० रुपियाँ, बन्द कोपी 50-60 रुपियाँ, रासायनिक चिनियाँ लसुन 400 रुपियाँ प्रति किलोमा बिक्री भइरहेको थियो। मेयरको उच्च स्तरीय प्रशासनिक बैठकपछि पनि बजारमा कुनै प्रभाव परेन। व्यवसायीहरूले अझै पनि सर्वसाधारणलाई महँगो मूल्यमा सब्जी किन्न बाध्य पारिरहेका छन्। बिधान मार्केटको सब्जी बजारमा हाकिमपाड़ाको विमल सिन्हा सरणीका वासिन्दा रणवीर बसुले भने, मेयरले आलु, प्याजको मूल्य कम्ती गर्न निर्देश दिएका बिहान पत्रिकामा पढेँ। बजार आउँदा 35 रुपियाँको आलु र 80 रुपियाँको प्याज देखेँ। कुनै पनि सब्जीको मूल्य 80-90 रुपियाँभन्दा कम्ती छैन। बैठक गरेर के लाभ भयो त? शान्तिनगर बजार आएका रवीन्द्रनगरका उत्तम दासले भने, प्रशासनले मूल्य घट्ने बताएको थियो। तर यहाँ त सबै सब्जीको मूल्य अझ बढ़ेको छ। नयाँ आलु आएको छ तर 50 रुपियाँमा बिक्री भइरहेको छ। लसुनको मूल्य यति धेरै छ कि मैले 100 ग्राम मात्र किन्न सकेँ।प्रशासनिक निगरानीको अभावकै कारण खुद्रा व्यवसायीहरूले सर्वसाधारणलाई लुटिरहेका छन्। नियन्त्रित बजारका सचिव अनुपम मैत्रले भने, टमाटर थोक बजारमा 45 रुपियाँमा बेचिँदैछ। तर खुद्रा बजारमा 80 रुपियाँमा बेच्नु हुँदैन। आलुको समस्या केही रहेको छ। हाम्रो क्षेत्रका लागि जलपाइगढ़ीको कोल्ड स्टोरमाथि भर पर्नुपर्छ। त्यहाँबाट आलु आइरहेको छ। हामीलाई आशा छ, चाँड़ै मूल्य घट्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *