फूटबलको सपना पालेकी अनिशा

जलपाइगढ़ीको डेङ्गुवाझार चियाबारीकी वासिन्दा अनिशा मुण्डा आफ्नो अध्ययनलाई निरन्तरता दिँदै सफल फूटबल खेलाड़ी बन्ने सपना देख्छिन्। तर आर्थिक अभावले तिनको सपना पूरा नहुने सङ्केत देखिएको छ। दशौँ कक्षाकी विद्यार्थी अनिशाले नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तकसमेत किन्न नसकेकी खबर छ। तिनको स्कूल ब्याग च्यातिएको छ र नयाँ कक्षामा पुगे पनि तिनी अझै विद्यालय जान सकेकी छैनन्। तिनको फूटबल अभ्यास पनि साधनको अभावमा क्रमश बन्द हुँदै गइरहेको छ। महीनौँदेखि तिनी चियाबारीको मैदानमा खाली खुट्टा अभ्यास गरिरहेकी छिन्। तर सही जुत्ता, जर्सी र फूटबल नहुँदा प्रतियोगितामा भाग लिन असम्भव छ। ती साधन किन्ने क्षमता तिनीसित छैन। चुनौतीहरू हुँदाहुँदै अनिशा दृढ़ छिन्। तिनकी आमा रञ्जिता मुण्डा छोरीको सपना मर्न नदिने अठोटसितै सहयोगी मन भएका व्यक्तिहरूसमक्ष सहयोगता मागिरहेकी छिन्। उता उचित समर्थन पाए अनिशाले फूटबल क्षेत्रमा उच्च सफलता प्राप्त गर्न सक्ने प्रशिक्षक अमित रोयको विश्वास छ। तिनले सबैलाई अनिशाको यात्रा निरन्तर अघि बढ़ाउन सहयोग गर्न आग्रह गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *