कृषि क्षेत्रमा सुधार एवं विकास सम्बर्द्धनका लागि केन्द्र सरकारले 29 मईदेखि 12 जुलाईसम्म कृषि सम्बन्धी विभिन्न कार्यक्रमहरू सम्पन्न गरिरहेको छ। यसै अभियानअन्तर्गत मिरिक महकुमाको च्याङ्गा बस्ती अनि तराईको निरपानियाँ बस्तीमा कृषि अनि बागवानी सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरिएको च्याङ्गा बस्तीका कृषक शरण थापाले जानकारी गराएका छन्। च्याङ्गा बस्ती अनि निरपानियाँ बस्तीमा अलग अलग समय र स्थानमा गरिएको सचेतना कार्यक्रममा कृषकहरूलाई केभीके कालेबुङका एसएमएस डाक्टर प्रणव वर्मा, सिनियर साइण्टिस डाक्टर सुजित सरकारले कृषि अनि बागवानी सम्बन्धी विस्तृत जानकारी गराएका शरण थापाले थप जानकारी गराए।
भौगोलिक दृष्टिकोणले च्याङ्गा बस्ती अनि निरपानियाँ बस्तीमा कुन प्रकारको खेती गरेर आमदानी गर्न सकिन्छ अनि कुन कुन खेतीका लागि यी ठाँउहरू उपयुक्त छन् भन्ने विषयमा पनि विस्तृत जानकारी गराइएको बताइएको छ। कार्यक्रममा केन्द्र सरकारका विभित्र योजना अनि कृषकहरूले पाउने सरकारी सहयोग र सहुलियतहरूबारे पनि जानकारी गराइएको थापाले बताए। यस कार्यक्रमले कृषकहरूलाई खेतीबारे जानकारी लिन धेरै लाभ पुगेको पनि तिनले बताए।
विकसित कृषि संकल्प अभियानअन्तर्गत देशभरि नै यो कार्यक्रम भइरहेको छ। यसमा लगभग 1.5 करोड़ किसानहरूलाई जोड्ने केन्द्र सरकारको लक्ष्य रहेको बताइएको छ। विकसित कृषि संकल्प अभियान वैज्ञानिक प्रचार, दिगो अभ्यास अनि भारतीय कृषि आधुनिकीकरण पहल रहेको शरण थापाले बताएका छन्।
