बङ्गलादेशका पीड़ित अल्पसङ्ख्यक हिन्दूहरूबारे मौनता तोड्दै पश्चिम बङ्गालकी मुख्यमन्त्री तथा तृणमूल कङ्ग्रेस प्रमुख ममता ब्यानर्जीले राज्यको धारणा स्पष्ट पारेकी छन्। बिहीवार विधानसभामा बोल्दै मुख्यमन्त्रीले बङ्गलादेशको विषयमा केन्द्र सरकारको निर्णयसित राज्य सहमत रहेको बताइन्। बिहीवार विधानसभाको अधिवेशनमा मुख्यमन्त्रीले भनिन्, अन्य देशको विषयमा हामी केन्द्र सरकारसित सहमत हुनेछौँ, यही हाम्रो सरकारको नीति हो। यदि कुनै धर्मका मानिसमाथि अत्याचार हुन्छ भने हामी त्यसको कड़ा निन्दा गर्छौँ। अर्को देशमा (बङ्गलादेशमा) यदि कुनै धर्मका मानिसहरूमाथि अत्याचार भए हामी त्यसलाई पनि समर्थन गर्दैनौँ। तिनले बङ्गलादेशको वर्तमान परिस्थितिबारे कोलकातास्थित इस्कनका प्रमुखसित कुराकानी गरिसकेको पनि जानकारी गराइन्।
शेख हसीना सत्ताच्यूत भएपछि बङ्गलादेशमा अल्पसङ्ख्यक हिन्दू समुदाय थप दबाउमा परेको छ। इस्लामपन्थी सङ्गठनहरूले इस्कनमाथि प्रतिबन्ध लगाउने माग उठाइरहेका छन्। यसै क्रममा देशद्रोहको आरोपमा सनातन जागरण मोर्चाका प्रवक्ता चिन्मय प्रभुलाई पक्राउ गरिएको छ। त्यसपछि बङ्गलादेशका धेरै जिल्लामा हिन्दू समुदायको विरोध प्रदर्शनले स्थिति तनाउपूर्ण बनेको छ।बुधवार दिल्लीमा संसदको शीतकालीन अधिवेशनमा भाग लिन जानअघि तृणमूल कङ्ग्रेसका अखिल भारतीय महासचिव अभिषेक ब्यानर्जीले बङ्गलादेशको परिस्थितिबारे पार्टीको धारणा स्पष्ट पारेका थिए। तिनले भनेका थिए, अन्तर्राष्ट्रिय मामिलामा केन्द्र सरकारले जुन नीति अपनाउँछ देशको हितमा तृणमूल कङ्ग्रेसले त्यसलाई समर्थन गर्नेछ। बिहीवार विधानसभामा मुख्यमन्त्रीले त्यसै विषयललाई फेरि स्पष्ट पारिन्।