जलपाइगढ़ी जिल्लाबाट प्रचुर नक्कली सिम कार्ड जारी

जलपाइगढ़ीका वासिन्दाको नाममा जारी गरिएका नक्कली सिम कार्ड दिल्लीमा आपराधिक कार्यमा प्रयोग भइरहेको छ। सिम जालसाजी प्रकरणको अनुसन्धान गर्दा पुलिसले यस्तो सनसनीपूर्ण जानकारी पाएको छ। दिल्ली मात्र होइन अन्य राज्यहरूमा पनि जलपाइगढ़ीका नागरिकहरूको नाममा जारी गरिएका नक्कली सिम कार्ड अनलाइन ठगीमा संलग्न व्यक्तिहरूसम्म पुगेको छ कि छैन भन्ने थाहा लगाउन पक्राउ परेकाहरूलाई सोधपुछ गर्दै पुलिसले मुख्य अपराधीहरूलाई समात्ने प्रयास गरिरहेको छ। सोमवार मालबजार पुलिस थानाले नक्कली सिम कार्ड प्रकरणमा दुईजनालाई पक्राउ गर्योक। मालबजार स्टेशन रोडको दैनिक बजार क्षेत्रमा रहेको एउटा मोबाइल पसलमा छापा मारेर ती दुई कर्मचारीहरूलाई पक्राउ गरिएको हो।

पसलका मालिकले भने सुइँकुच्चा ठोकेका छन्। यस सिम जालसाजी घटनाको गहिरो जाँच गर्न जिल्लामा विशेष अनुसन्धान टोली (एसआईटी) गठन गरिएको छ जसको नेतृत्व अतिरिक्त जिल्ला पुलिस अधीक्षक (ग्रामीण) समीर अहमदले गरिरहेका छन्। यसै गरी नयाँ नक्कली सिम कार्ड प्रकरणमा धूपगढ़ी, मैनागढ़ी र जलपाइगढ़ी पुलिस थानाहरूमा नयाँ मुद्दा दर्ता गरिएको छ। जिल्ला पुलिस प्रमुख खाण्डबाहाले उमेश गणपतले भने, सिम जालसाजी घटनामा थप दुईजनालाई पक्राउ गरिएको छ। तिनीहरूलाई हिरासतमा लिएर सोधपुछ गर्दा नयाँ जानकारीहरू पाइएको छ। जाँरी जारी छ। राष्ट्रिय साइबर अपराध पोर्टलबाट प्राप्त जानकारीको आधारमा जिल्ला पुलिसका विभिन्न थानाहरूले जाँच आरम्भ गरेका छन्। यस क्रममा माल, मटेली र नगराकट्टा क्षेत्रका तीनजना सिम विक्रेताहरूको नाम बाहिर आएको छ। ती विक्रेताहरूले सर्वसाधारणलाई झुक्याएर तिनीहरूको आधार नम्बर प्रयोग गरी धेरै सिम कार्ड जारी गरेका थिए। ती सिम कार्डहरू राज्यका विभिन्न अवैध कल सेण्टरहरू हुँदै अन्य राज्यका अनलाइन ठगहरूसमक्ष पुगेका छन्। जाँचको क्रममा पुलिसले थाहा पायो कि माल पुलिस थाना क्षेत्रमा अर्णव दत्त नामक सिम विक्रेतालाई पक्राउ गरिएको छ।

तिनको नाममा 30 वटा पोइण्ट अफ एक्टिभेशन रहेको थाहा लागेको छ। कम्पनीहरूले सिम विक्रेताहरूलाई सिम एक्टिभेशन गर्न मास्टर सिम कार्ड उपलब्ध गराउँछन् र पुलिसले अर्णवबाट 30 वटा मास्टर सिम कार्ड फेला पारेको छ। कम्पनीले कसरी एकै व्यक्तिलाई यति धेरै एक्टिभेशन पोइण्ट प्रदान गर्योा भन्ने प्रश्न उठेको छ। अब के अर्णवले मोबाइल सेवा प्रदायकहरूबाट नक्कली नाममा एक्टिभेशन सिम कार्ड लिएको थियो त? अर्णवबाट 30 वटा एक्टिभेशन सिम कार्ड फेला परेपछि तिनले कति नक्कली सिम जारी गरे भन्ने ठूलो प्रश्न खड़ा भएको छ। पुलिसले अर्णवलाई हिरासतमा लिएर थप जाँच गरिरहेको छ। यसैबीच राष्ट्रिय साइबर अपराध पोर्टलको रिपोर्टअनुसार जलपाइगढ़ी जिल्लाबाट जारी 166 वटा सिम कार्ड अनलाइन ठगीका लागि प्रयोग भइरहेको तथ्य फेला परेको छ। जाँचमा माल, मटेली, नगराकट्टा मात्र होइन धूपगढ़ी, मैनागढ़ी र जलपाइगढ़ी क्षेत्रबाट पनि नक्कली सिम कार्ड जारी गरिएको थाहा लागेको छ। अहिलेसम्म यी तीन पुलिस थानाहरूले नयाँ सिम कार्ड जालसाजी सम्बन्धी मुद्दा दर्ता गरिसकेका छन्। जलपाइगढ़ी शहरको एउटा पसलबाट मालबजारकी एउटी महिलाको नाममा सिम कार्ड जारी गरिएको थियो। त्यो सिम कार्ड प्रयोग गरी अनलाइन ठगीको प्राथमिकी दिल्लीको साउथ-इष्ट साइबर थानामा दर्ता भएको छ। यस घटनाको जाँच पनि पुलिसले आरम्भ गरिसकेको छ। जलपाइगढ़ीको उक्त व्यवसायीलाई पनि जाँचका लागि सोधपुछ गरिने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *