लगातार दुई सिजन फाइनलमा पुगेर पनि उपविजेतामा सीमित बनेको सुदूरपश्चिम रोयल्सले तेस्रो प्रयासमा नेपाल प्रिमियर लिग ९एनपीएल० २०२६ को उपाधि उचालेपछि अहिले प्रदेशका पहाडी कुनाकन्दरादेखि तराईका समथर फाँटसम्म खुसीको लहर छाएको छ । साविक विजेता लुम्बिनी लायन्सलाई १० विकेटको फराकिलो अन्तरले पराजित गर्दै ट्रफी कब्जा गरेसँगै समर्थकको लामो प्रतीक्षा पूरा भएको हो ।
पहिलो सिजनमै उपाधि जितेपछि सुदूरपश्चिमका नौ वटै जिल्लामा ट्रफी घुमाउने घोषणा गरेको टिम व्यवस्थापनले यसपटक वाचा पूरा गर्न लागेको छ । टिमले आफनो आधिकारिक एन्थममा समेटेको ‘नौ जिल्लाको माला टुट्ने छैन कहिल्यै’ भन्ने भावलाई सार्थक बनाउँदै च्याम्पियन्स ट्रफी अब प्रदेशका नौ वटै जिल्लाको आँगनमा पुग्दै छ ।
सार्वजनिक कार्यतालिकाअनुसार आगामी मंसिर १३ गते अछाम र बाजुराबाट सुरु हुने ‘च्याम्पियन्स ट्रफी टूर’ मंसिर २० गते कैलालीको धनगढीमा भव्य सांगीतिक कन्सर्टसहित समापन हुनेछ । यसपटकको ट्रफी टूरको मुख्य विशेषता भनेको सुदूरपश्चिमका प्रसिद्ध धार्मिक क्षेत्र तथा शक्तिपीठहरूमा ट्रफी पुर्याइनु हो । खेलकुदको विजयलाई प्रदेशको मौलिक संस्कृति, आस्था र पर्यटनसँग जोड्दै टूरको सुरुवात नै मन्दिर दर्शन र पूजाआजाबाट गरिँदै छ । मंसिर १३ गते बिहान ८ स् ३० बजे अछामको प्रसिद्ध बैजनाथ मन्दिरमा ट्रफी दर्शन र साँफेबगरसम्मको र्यालीबाट सुरु हुने यात्रा सोही दिन दिउँसो बाजुराको मार्तडी पुग्नेछ ।
त्यसपछि मंसिर १४ गते डोटीको शैलेश्वरी मन्दिर र डडेल्धुराको उग्रतारा मन्दिर, मंसिर १५ गते बैतडीको निङ्गलाशैनी, मंसिर १६ गते दार्चुलाको मालिकार्जुन, मंसिर १७ गते बझाङको चैनपुर र मंसिर १८ गते डडेल्धुराको परशुराम धाम हुँदै ट्रफी तराई झर्नेछ । मंसिर १९ गते कैलालीको टीकापुर, चिसापानी, लम्की, घोडाघोडी, अत्तरिया र कञ्चनपुरको महेन्द्रनगरस्थित दोधारा चाँदनी झोलुङ्गे पुलसम्म ट्रफी पुर्याइनेछ ।
सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० प्रकाश खड्काले धार्मिक र खेल पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्यले शक्तिपीठहरूमा ट्रफी लैजाने योजना बनाइएको बताए । ‘विशेषगरी सुदूरपश्चिमका धार्मिक क्षेत्र र शक्तिपीठमा ट्रफी घुमाउने योजना छ । जसमा सबैको आस्था र विश्वास जोडिएको छ,’ खड्काले भने, ‘हामीले पहिलो सिजनमै जितेपछि सबै जिल्लामा ट्रफी घुमाउँछौं भनेका थियौं, अहिले धार्मिक र खेल पर्यटनलाई विशेष जोड दिएर त्यो वाचा पूरा गर्दै छौं ।’
टूरमा खेलाडी र व्यवस्थापनको टोली सहभागी हुने र यसका लागि प्रदेश तथा स्थानीय सरकारसँग समेत समन्वय भइरहेको उनले जानकारी दिए । सुदूरपश्चिमका नौ वटै जिल्ला क्रिकेटको उर्वर भूमि भएकाले यो सम्मान रोयल्सका खेलाडीका लागि मात्र नभई एनपीएलका अन्य टिमबाट खेल्ने सुदूरपश्चिमका सबै खेलाडी र समर्थकप्रतिको कदर भएको खड्काको भनाइ छ ।
एनपीएलको मैदानमा सुदूरपश्चिम रोयल्सको मात्र होइन, लिगका आठवटै फ्रेन्चाइज टोलीमा सुदूरपश्चिमको माटोमा हुर्किएका खेलाडीहरूको दबदबा रहेको छ । रोयल्समा कप्तान दीपेन्द्रसिंह ऐरीसँगै विनोद भण्डारी, हेमन्त धामी, दीपक बोहरा, मिलन बोहरा र टेक रावत, आयुब चन्द , हिक्मत महरा , सचीन भट्ट , टेकराज चन्दलगायतका स्थानीय प्रतिभाले टिमलाई च्याम्पियन बनाए । त्यस्तै, विराटनगर किंग्सबाट डोटीका लोकेश बमले २४२ रन बनाउँदै सर्वाधिक रन बनाउने नेपाली ब्याटरको उपाधि जिते भने लुम्बिनी लायन्सबाट बैतडीका सन्दीप जोरा, दिनेश अधिकारी, शेर मल्ल काठमाडौं गुर्खाजबाट कञ्चनपुरका भीम सार्की, चितवन राइनोजबाट अछामका अमरसिंह रौटेला र पोखरा एभेन्जर्सबाट बैतडीका आकाश चन्दलगायतले उत्कृष्ट प्रदर्शन गरे ।
सुदूरपश्चिमका समर्थकको अथाह मायाकै कारण कठिन खेलहरूमा समेत जित निकाल्न सम्भव भएको सीईओ खड्का बताउँछन् । ‘टी–२० क्रिकेटमा सामान्यतया चौका, छक्का वा विकेट झर्दा मात्र हुटिङ आउँछ । तर सुदूरपश्चिमका समर्थकले हरेक बलमा साथ दिए, जसको चर्चा नेपाल क्रिकेट संघ ९क्यान० भित्र पनि हुने गरेको छ,’ उनले भने, ‘यसपटक केही निकै चुनौतीपूर्ण खेलहरू प्यारापिटबाट आएको दर्शकको समर्थनकै कारण जित्यौं । यही क्रेजका कारण विदेशी खेलाडीहरूको रोजाइमा पनि सुदूरपश्चिम पर्छ र ठूला लिग छाडेर समेत यहाँ खेल्न आउँछन् ।’
टिमले खेलसँगै सुदूरपश्चिमको भाषा, कला र संस्कृतिलाई समेत राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गरिरहेको छ । स्थानीय लवजको सम्मान गर्दै टिमको मस्कटको नाम ‘बड्डाउ’ राखिएको छ भने जर्सीमा दार्चुलाको अपी हिमालको नाम अंकित गरिएको छ ।
सीईओ खड्काका अनुसार यही सिजनमै नौ वटै जिल्लामा पुगेर ‘ट्यालेन्ट हन्ट’ ९प्रतिभा खोजी० गर्ने योजना रहे पनि मौसमले साथ नदिँदा रोकिएको थियो । ‘स्थानीय स्तरमा रहेका तर ओझेलमा परेका प्रतिभालाई अगाडि सार्न आगामी सिजनका लागि नौ वटै जिल्लामा ट्यालेन्ट हन्ट गर्ने योजना बनाएका छौं,’ उनले भने, ‘सुदूरपश्चिम र क्रिकेटलाई अझ बलियोसँग जोड्न प्रदेश र स्थानीय सरकारसँग सहकार्य अगाडि बढाएका छौं ।’
अभाव र दुर्गम भूगोलको पर्याय मानिने सुदूरपश्चिमले क्रिकेटमार्फत नयाँ परिचय कोरेको समर्थक बताउँछन् आस्थाका केन्द्रहरूमा ट्रफी पुर्याउँदै पहाड र तराईलाई एउटै भावनामा जोड्ने यो यात्राले सुदूरपश्चिमको खेलकुद र संस्कृतिबीचकोसंगम समेत प्रस्तुत गर्ने चर्चा हुन थालेको छ ।
