त्रिभुवन विश्वविद्यालय अन्तर्गतको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागले डिजिटल युगको मागलाई सम्बोधन गर्न ुडिजिटल कन्टेन्ट क्रिएसनु विषयमा एकवर्षे पोस्ट ग्र्याजुएट डिप्लोमा (पीजीडी) कार्यक्रम सञ्चालनमा ल्याउने भएको छ । जुनसुकै विषयमा स्नातक उत्तीर्ण गरेकाले अध्ययन गर्न पाउने यस कार्यक्रमका लागि पुस १५ गतेसम्म आवेदन खुला गरिएको छ भने माघभित्र कक्षा सञ्चालन हुनेछ ।
पहिलो वर्षका लागि २५ जनाको कोटा निर्धारण गरिएको यस कोर्सको कुल ट्युसन शुल्क ८५ हजार रुपैयाँ तोकिएको छ । कामकाजी विद्यार्थीलाई समेत सहज हुने गरी बिहान वा बेलुकाको समयमा कक्षा सञ्चालन गर्ने तयारी विभागको छ ।
विभागीय प्रमुख कुन्दन अर्यालका अनुसार प्रयोगात्मक पक्षलाई मुख्य प्राथमिकता दिँदै विद्यार्थीलाई प्रत्यक्ष कन्टेन्ट प्रोडक्सनमा सहभागी गराउन कोटा सीमित गरिएको हो । ‘बजारको आवश्यकता अनुसार मिडिया क्षेत्रका लागि दक्ष जनशक्ति तयार पार्न यो मार्केट(ड्रिभन कोर्स ल्याइएको हो,’ उनले भने, ‘सरकारबाट ल्याब सुविधाका लागि रकम प्राप्त भएको र विभागको आफ्नै भवन भएकाले सहुलियत शुल्कमा पढाउन लागेका हौं । २५ मध्ये कम्तीमा २० जना राम्रा कन्टेन्ट क्रिएटर बनेर बजारमा स्थापित भए भने कोर्स सार्थक हुनेछ ।’
कार्यक्रमका संयोजक ऋषिकेश दाहालले यो कोर्स पत्रकारितामा मात्र सीमित नरही डिजिटल स्टोरीटेलिङ, मार्केटिङ, पब्लिक रिलेसन र टेक्निकल राइटिङका विधामा समेत केन्द्रित रहने जानकारी दिए । ‘सीप भए पनि शैक्षिक पृष्ठभूमि तथा कानुनी र नैतिक पक्षको ज्ञान नहुँदा कतिपय कन्टेन्ट क्रिएटरले समस्या भोगिरहेका छन्,’ दाहालले भने, ‘यो कोर्सले सैद्धान्तिक जगसहित व्यावहारिक सीप विकासमा जोड दिनेछ ।’
विभागले यस कार्यक्रममा विश्वविद्यालयका प्राध्यापकका साथै स्वदेशका स्थापित कन्टेन्ट क्रिएटर, फोटोग्राफर, फ्याक्ट(चेकिङ विज्ञ तथा विभिन्न देशका विदेशी विज्ञलाई समेत स्रोत व्यक्तिका रूपमा सहभागी गराउने जनाएको छ ।
