नेपाली सांगीतिक समुह नेपथ्यले अस्ट्रेलियाका विभिन्न शहरमा सांगीतिक भ्रमण गर्ने भएको छ । यही डिसेम्बरदेखि शुरु हुने उक्त भ्रमण करिब तीन सातासम्म चल्ने नेपथ्यले जनाएको छ ।
‘नेपथ्य अस्ट्रेलिया टुर २०२६’ नाम दिइएको उक्त भ्रमण दक्षिण अस्ट्रेलियाबाट शुरु भएर पर्थमा टुंगिनेछ । डिसेम्बरको ७ मा एडिलेडबाट नेपथ्यले सांगीतिक यात्रा शुरु गर्दै मेलबर्नमा १४ मा, सिड्नीमा १९ मा र पर्थमा २७ डिसेम्बरमा सम्पन्न गर्ने भनिएको छ । आफ्नो बाद्यबादन सहित आउने टोलीको नेतृत्व गायक अमृत गुरुङले गर्नेछन् ।
टुरको अस्ट्रेलिया संयोजन गरिरहेको गिरिस इभेन्ट्स एन्ड इन्टरटेन्मेन्टका प्रमुख गिरिस भारतीका अनुसार यसपटक नेपथ्यले अस्ट्रेलियाका मुख्य चार शहरमा मात्र कार्यक्रम गर्ने तय भएको छ । आठौं पटक अस्ट्रेलिया यात्रामा आउन लागेको नेपथ्यको सांगीतिक कार्यक्रमलाई अस्ट्रेलियामा आयोजना हुने नेपाली सांगीतिक कार्यक्रममध्ये सबैभन्दा सफल मानिन्छ ।
मुख्य गायक गुरुङले यसअघि कान्तिपुरसँगको कुराकानीमा अस्ट्रेलियामा नेपाली गीतसंगीत र कलाकारलाई अत्यन्तै माया गर्ने अनुभव गरेको सुनाएका थिए ।
संयोजक भारतीका अनुसार नेपथ्यको सांगीतिक प्रस्तुती एडिलेडमा हाइन्डली स्ट्रिट म्युजिक हल, मेलबर्नमा फेस्टिभल हल, सिड्नीमा होर्डन पेभिलियन र पथएमा मेट्रो सिटी कन्सर्ट हलमा कार्यक्रम हुनेछ ।
