टर्च लिन ओलम्पियन टोली दैलेखमा

दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रचारात्मक अभियानअन्तर्गत टर्च प्रज्वलन गर्न ओलम्पियनसहितको टोली शुक्रबार दैलेख पुगेको छ ।
विगतका राष्ट्रिय खेलकुद प्रतियोगितामा लुम्बिनीको शान्ति दीपबाट टर्च प्रज्वलन गरेर ल्याउने गरिएकोमा यसपटक दैलेखको श्रीस्थानस्थित प्राकृतिक ज्वालाबाट टर्च ल्याउन लागिएको हो ।
ओलम्पियन दीपक विष्ट, घावक हरि रोकाया, देवु र साग गोल्डमेडिस्ट मन्डेकाजी श्रेष्ठ र दीपक श्रेष्ठसहितको टोलीले दैलेखको पञ्चकोशी क्षेत्रस्थित श्रीस्थानको प्राकृतिक ज्वालाबाट टर्च प्रज्वलन गर्नेछन्।
त्यहाँबाट टर्च लिएर टोली कालिकोट, जुम्ला र मुगुको रारासम्म पुग्नेछ। त्यसपछि टोली टर्चसहित सुर्खेत फर्किने कार्यक्रम छ।
श्रीस्थान पञ्चकोशी क्षेत्रको प्रमुख धार्मिक स्थल हो। यहाँ जमिनबाट निस्कने प्राकृतिक ग्यासका कारण निरन्तर ज्वाला बलिरहेको छ।
यसपटक सोही ज्वालाबाट राष्ट्रिय खेलकुदको टर्च प्रज्वलन गर्न लागिएको हो।
टर्च यात्रामार्फत प्रतियोगिताको सन्देश प्रदेशका विभिन्न जिल्लासम्म पुर्‍याउने र स्थानीयस्तरमा खेलकुदको वातावरण बनाउने लक्ष्य राखिएको छ। सुर्खेत फर्किएपछि उक्त टर्च दसौं राष्ट्रिय खेलकुद प्रतियोगितासम्बन्धी कार्यक्रममा प्रदर्शन गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *