उच्च हिमाली क्षेत्रमा हिमपात

कञ्चनजङ्घा, मकालु, ल्होत्से, सगरमाथा (खुम्बु क्षेत्र),लाङटाङ, मनास्लु,अन्नपूर्ण र धौलागिरी क्षेत्रका उच्च भूभागहरूमा भीषण हिमपात भइरहेको छ।
मनास्लु आधार शिविर र लार्के पास वरपर बाक्लो हिउँ परेकाले पर्वतारोहण र पदयात्रा जोखिमपूर्ण बनेको छ। मौसमविद् रोजन लामिछानेले उच्च हिमाली भेगमा हिमपात र वर्षा समेत भइहरेको बताए ।
पर्यटन विभाग र टेकिङ एजेन्सिज एसोसिएसन अफ नेपालले सूचना जार्दै गरी उच्च हिमाली भेगमा आरोहण तथा पदयात्रामा रहेका टोलीहरूलाई तत्काल सुरक्षित तल्लो भू–भागमा ओर्लन वा नजिकैको आश्रयस्थलमा रहन अपिल गरेको छ । थोराङ ला पास र उपल्लो मनाङ र मुस्ताङ क्षेत्रमा पनि अत्यधिक चिसो र बाक्लो हिमपातका कारण जनजीवन प्रभावित भएको छ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले कोशी,बागमती,गण्डकी र नारायणी नदीका साथै तिनका सहायक नदीहरूमा जलसतह खतराको तह नजिक पुग्न सक्ने चेतावनी दिएको छ। काठमाडौँ उपत्यकाका बागमती,विष्णुमती र धोबीखोलासहित पूर्वी तथा मध्य नेपालका सानारठूला नदीहरूमा बहाव तीव्र रूपमा बढेको छ।
बाढी महाशाखाले तटीय क्षेत्रका बासिन्दालाई मोबाइलमा अलर्ट पठाउँदै सतर्क रहन आग्रह गरेको छ। गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रले पहिरो र लेदो खस्ने सम्भावना उच्च रहेकाले जोखिमयुक्त राजमार्गहरूमा रात्रिकालीन सवारी साधन सञ्चालन नगर्न र अत्यावश्यकीय कामबाहेक लामो दूरीको यात्रा नगर्न सर्वसाधारणमा अपिल गरेको छ।
यसअघि लाङटाङ लिरुङ क्षेत्रमा गएको हिमपहिरो तथा भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण रसुवा,नुवाकोट र धादिङका क्षति पुगेका स्थानहरूमा पुनःस्थापना र उद्धार कार्य जारी छ। जल तथा मौसम विज्ञान विभागका अनुसार अहिलेको थप वर्षाले ती क्षेत्रमा पहिरोको जोखिम बढाएको छ।
सम्भावित जोखिम पन्छाउन र अवरुद्ध सडक खुलाउन मुख्य राजमार्गहरूमा हेभी इक्विपमेन्ट डोजर तथा स्क्याभेटर तयारी अवस्थामा राखि नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बललाई हाइ अलर्टमा परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ। साथै,पाक्न लागेको धान बाली जोगाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पनि किसानहरूका लागि छुट्टै सतर्कता बुलेटिन जारी गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *