भोजपुरमा भाइरल ज्वरोका बिरामीको चाप

काठमाडौँ भोजपुरमा भाइरल ज्वरोको संक्रमण बढ्न थालेको छ। पछिल्ला केही दिनयता ज्वरो, रुघाखोकी, टाउको दुख्ने, घाँटी दुख्ने तथा शरीर दुख्नेजस्ता समस्याले ग्रस्त बिरामीहरू स्वास्थ्य संस्था पुग्ने गरेका छन्। सदरमुकामस्थित जिल्ला अस्पताल भोजपुरमा समेत भाइरल ज्वरोका बिरामीको चाप बढेपछि स्वास्थ्यकर्मीलाई समेत सेवा प्रवाहमा थप सास्ती बढेको छ।
अस्पतालको बहिरंग सेवामा पछिल्ला दिनमा सामान्य अवस्थाभन्दा बढी बिरामी उपचारका लागि पुग्ने गरेका छन्। विशेषगरी ज्वरोसँगै रुघाखोकी, घाँटी दुख्ने, टाउको दुख्ने तथा शरीर गल्नेजस्ता लक्षण भएका एकसय पचासभन्दा बढी बिरामीहरू दैनिक अस्पताल आउने गरेको स्वास्थ्यकर्मीहरू सुनाउँछन्।
मौसम परिवर्तन, वर्षायाममा हुने वातावरणीय परिवर्तन तथा संक्रमण फैलिन सक्ने अवस्थाका कारण भाइरल ज्वरोका बिरामी बढेको अस्पतालका सूचना अधिकारी दीपेन्द्र दासले बताए।
उनका अनुसार अहिले २० देखि ३० जना विरामीहरू बेड भर्ना हुने गरेका छन् ।
भोजपुरका ग्रामीण क्षेत्रबाट समेत उपचारका लागि सदरमुकाम आउने बिरामीका कारण अस्पतालमा चाप थपिएको छ। सामान्य स्वास्थ्य समस्या लिएर स्थानीय स्वास्थ्य संस्थामा उपचार गराए पनि सुधार नभएपछि विरामीहरू थप उपचारका लागि जिल्ला अस्पताल आउने गरेको चिकित्सकहरू सुनाउँछन्।
अस्पतालका मेडिकल अधिकृत डा. मुकेश दास तत्माका अनुसार भाइरल ज्वरो एक व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण हुन सक्ने भएकाले व्यक्तिगत सरसफाइ र स्वास्थ्य सावधानीमा विशेष ध्यान दिन आवश्यक रहेको बताए।
अस्पतालमा बिरामीको चाप बढ्दै गएपछि अस्पतालले आवश्यक औषधि, जनशक्ति तथा उपचार व्यवस्थापनलाई चुस्त राख्नुपर्ने आवश्यकता देखिएको छ। भोजपुरमा भाइरल ज्वरोको संक्रमण बढ्दै गएको अवस्थामा बिरामीको संख्या, संक्रमणको प्रकृति र कारणबारे स्वास्थ्य निकायले नियमित निगरानी तथा तथ्यांक संकलन गर्नुपर्ने आवश्यकतासमेत देखिएको सरोकारवालाहरू सुनाउँछन्। स्थानीय अगुवा विमल रणपहेँलीले संक्रमण समुदायस्तरमा फैलिन नदिन स्वास्थ्य संस्था मात्र होइन, स्थानीय तह र सम्बन्धित निकायले समेत जनचेतनामूलक अभियान सञ्चालन गर्नुपर्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *