परराष्ट्रमन्त्री शिशिर खनाल औपचारिक भ्रमणमा भारत जाने भएका छन् । भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा मन्त्री खनाल आगामी शनिबार तीनदिने भ्रमणका लागि दिल्ली जान लागेका हुन् ।
परराष्ट्र मन्त्रालयका एक अधिकारीका मन्त्री खनालले भारतीय समकक्षी जयशंकर र अन्यसँग छलफल गर्नेछन् । त्यस्तै, वाणिज्यमन्त्री पीयूष गोयल र अन्य उच्च अधिकारीसँग भेट गर्ने तयारी रहेको छ ।
परराष्ट्रमन्त्रीका रूपमा खनालको यो पहिलो औपचारिक विदेश भ्रमण हुनेछ । यसअघि उनी मौरिससमा आयोजित नवौं हिन्द महासागर सम्मेलनमा सहभागी भएका थिए ।
मौरिससमा खनाल र जयशंकरबीच बदलिएको परिवेशमा नेपाल–भारत सम्बन्धलाई अगाडि बढाउने विषयमा छलफल भएको थियो । नेपालको नयाँ सरकारका प्राथमिकताहरूबारे काठमाडौंमा विस्तृत रूपमा छलफल गर्न सहमतिसमेत भएको थियो ।
खनालको दिल्ली भ्रमणका क्रममा कनेक्टिभिटीदेखि सीमा विवाद समाधान गर्नेसम्मका विषयमा संवाद हुने जनाइएको छ। दुई पक्षबीच पञ्चेश्वर, पूर्व–पश्चिम रेलवे, जनकपुर–अयोध्या रेलवे, पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय उडान तथा व्यापार र पारवहनसँग सम्बन्धित विषयमा छलफल गर्ने तयारीसमेत छ । पछिल्लो समय सीमा विवादका कारण द्विपक्षीय सम्बन्धमा देखिएको अविश्वास हटाउने विषयमा खनाल र जयशंकरबीच छलफल हुनेछ ।
परराष्ट्रमन्त्री खनालले वाणिज्यमन्त्री गोयलसँग पेट्रोलियम पाइपलाइन विस्तार, नेपालमा चिनी निर्यातमा भारतले लगाएको प्रतिबन्ध फुकुवा र भारतमा नेपालीलाई भुक्तानीका लागि ‘क्यूआर’ कार्यान्वयन गर्ने विषयमा छलफल गर्ने सम्भावना रहेको परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताए ।
