अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुन तस्करी प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महरासहित २८ जना व्यक्ति र एक कम्पनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विद्युतीय चुरोट (भेप० भित्र लुकाएर ल्याएको आरोपमा अख्तियारले उनीहरुविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अख्तियारले ७३० थान भेपमा लुकाएर ल्याइएको करिब साढे ८ किलो सुन हिनामिना गरेको आरोप लगाएको छ । अख्तियारले उनीहरुबाट ७ करोड ७८ लाख ६८ हजार ०९५ रुपैयाँ १९ पैसा बिगो दाबी पनि गरेको छ।
२०७९ पुस १० गते फ्लाई दुबईको उडानबाट चिनियाँ नागरिक ली हाङ सोङले २ वटा सुटकेसभित्र ७३ कार्टुनमा रहेका ७३० थान भेप नेपाल ल्याएका थिए।
भन्सारको एक्सरे मेसिनमा जाँच गर्दा तत्कालीन सुरु जाँचकीले ती भेपभित्र पहेँलो र कालो रङको शंकास्पद धातु देखेपछि उक्त लगेजलाई रेड च्यानलमा पठाएका थिए।
तर रेड च्यानलमा खटिएका प्रमुख भन्सार अधिकृत सुबेन्द्र श्रेष्ठसहितका कर्मचारीले तस्करसँगको मिलेमतोमा सुन बरामद गरेनन्। भन्सार ऐनविपरीत ती सामान जाँचपास नगरी अनुकूल समयमा सट्टापट्टा गर्ने नियतले भण्डारण गरिएको थियो।
पछि प्रमुख भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठले ती सामान आफ्नै कार्यकक्षमा राखेर तस्करसँग अस्वाभाविक भेटघाट गरेका थिए। कानुनविपरीत चिनियाँ नागरिक सोङको राहदानीसमेत उनले फिर्ता दिएको अख्तियारको अनुसन्धानले देखाएको छ।
भन्सार अधिकृत श्रेष्ठले आफ्नो कार्यकक्षमा राखेको सुनसहितको भेप २०७९ माघ २९ गते मुद्दा तथा लिलामी शाखामा पठाएका थिए। त्यसपछि भन्सार गोदाममा सीसीटीभीले नदेख्ने स्थानमा लगेर सक्कली सुन भएको भेप निकालेर नक्कली भेप राखिएको थियो।
सोही क्रममा सुरक्षा गार्ड निर्मलकुमार विक र नायब सुब्बा मधुसुदन पोखरेलको मिलेमतोमा एउटा भेप फुटाएर कोटेश्वरस्थित सुनचाँदी पसलमा परीक्षण गर्दा ९९.६ प्रतिशत शुद्ध सुन रहेको प्रमाणित भएको थियो।
कर्मचारीहरूले आफ्नो कसुर लुकाउन सुन निकालिसकिएको नक्कली भेपलाई लिलामी प्रक्रियामा लगेका थिए। लिलामी शाखाका नायब सुब्बा रेवन्त खड्का र व्यापारी दिनेश बस्नेतको मिलेमतोमा उक्त नक्कली सामान लिलाम भएको देखाएर घटना सामसुम पार्ने प्रयास भएको थियो।
यस प्रकरणमा तत्कालीन भन्सार प्रमुख प्रशासक अरुण पोखरेललाई दबाब र प्रभावमा पार्न पूर्वसभामुख कृष्णबहादुर महरा र उनका छोरा राहुल भन्ने रेशम महराले भूमिका खेलेको अख्तियारले दाबी गरेको छ।
उनीहरूले चिनियाँ नागरिक दाओजिन वाङ, ली हाङ सोङ, बेल्जियन नागरिक दावा छिरिङ र निमा गुरुङसँग मिलेर सेटिङ मिलाएका थिए।
चोरी गरिएको सुन काठमाडौंको ओटुस्थित पशुपति सुनचाँदी पसलका सञ्चालक भारतीय नागरिक साहेबराव पाण्डुरङ मरगलेलाई बिक्री गरिएको थियो।
सुन बिक्रीबाट आएको अवैध रकम व्यवस्थापन गर्न दीपिका थापा, प्रेरणा थापा, ललिता थापा र डेक्सटर ट्राभल्स एन्ड टुर्स प्रालिको बैंक खाता प्रयोग गरिएको पाइएको छ। त्यसरी आएको कालोधनलाई सेतो बनाउन रामकेशव थापा क्षेत्री र अमृत कार्कीको नाममा जग्गा खरिद गरिएको अख्तियारले बताएको छ।
अभियोगपत्र अनुसार भन्सारका तत्कालीन प्रमुख प्रशासक अरुण पोखरेल, प्रमुख अधिकृतद्वय मुक्तिप्रसाद श्रेष्ठ र अम्बिकाप्रसाद खनाल, अधिकृतहरू रमेशकुमार खतिवडा र सुबेन्द्र श्रेष्ठ, नायब सुब्बाहरू सुवर्णाप्रभा केसी, भुवनराज घिमिरे, उमेशप्रसाद कोइराला, रेवन्त खड्का र मधुसुदन पोखरेल गरी १० जना कर्मचारीविरुद्ध मुद्दा दायर भएको छ।
यसैगरी पूर्वसभामुख कृष्णबहादुर महरा, उनका छोरा रेशम महरा, निर्मलकुमार विक, लोकेन्द्रकुमार पौडेल, दीपेश बस्नेत, गोपाल सुवेदी, दिनेश बस्नेत, वेदप्रकाश अग्रवाल, रामकेशव थापा क्षेत्री, अमृत कार्की, निमा गुरुङ, प्रेरणा थापा, ललिता थापा र दीपिका थापालाई प्रतिवादी कायम गरिएको छ।
विदेशी नागरिकहरूतर्फ ली हाङ सोङ, दाओजिन वाङ, दावा छिरिङ र साहेबराव पाण्डुरङ मरगले गरी कुल २८ जना व्यक्ति तथा डेक्सटर ट्राभल्स एन्ड टुर्स प्रालि विरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ।
भन्सार प्रशासक पोखरेललाई सार्वजनिक संस्थाको प्रमुखको हैसियतले काम गरेको भन्दै थप सजाय माग गरिएको छ भने महरा बाबुछोरासहितका मतियारलाई मुख्य कसुरदार सरह नै सजाय हुनुपर्ने दाबी अख्तियारले गरेको छ।
