अलिपुरद्वार जिल्लाका 18 चियाबारीमा स्वास्थ्य केन्द्र निर्माण

अलिपुरद्वार जिल्लाका चियाबारीहरूमा स्वास्थ्य सेवा सुधारका लागि श्रम विभागले कार्य आरम्भ गरेको छ। अब चियाबारीको अस्पताल मात्र होइन चिया श्रमिकहरूले श्रम विभागका स्वास्थ्य केन्द्रहरूबाट पनि सेवा पाउनेछन्। जिल्लाका 18 वटा चियाबारीमा यस्ता स्वास्थ्य केन्द्रहरू निर्माण भइरहेका छन्। केही केन्द्रहरू सञ्चालनमा आइसकेका छन् भने केहीको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। यस वर्षभित्र सबै स्वास्थ्य केन्द्र सञ्चालनमा आएपछि चिया क्षेत्रको स्वास्थ्य सेवामा उल्लेखनीय रूपले सुधार आउने अपेक्षा गरिएको छ।
यस विषयमा अलिपुरद्वारका डिपुटी लेबर कमिश्नर गोपाल विश्वासले भने, 18 वटा चियाबारीमध्ये 3 वटा स्वास्थ्य केन्द्र पहिल्यै सञ्चालनमा आइसकेका छन्। थप 5 वटा केन्द्र उद्घाटनको तयारीमा छन्। बाँकी केही केन्द्रहरूको कार्य चलिरहेको छ। श्रम विभाग सूत्रअनुसार जिल्लाको मदारीहाट–बीरपाड़ा ब्लकमा सबैभन्दा अधिक चियाबारीमा स्वास्थ्य केन्द्रहरू बन्नेछन्। त्यहाँ 8 वटा केन्द्र स्थापना हुँदैछन्। यसबाहेक कालचिनी ब्लकमा 6 वटा र कुमारग्राम ब्लकमा 2 वटा चियाबारीमा केन्द्र बन्नेछन्। फालाकाटा र अलिपुरद्वार 1 ब्लकमा 1-1 वटा स्वास्थ्य केन्द्र निर्माण हुनेछ। प्रत्येक स्वास्थ्य केन्द्र बनाउन लगभग 1 करोड़ खर्च भइरहेको छ।
रहीमाबाद, जयबीरपाड़ा र तुरतुरी चियाबारीमा केन्द्रहरू पहिले नै सञ्चालनमा आइसकेका छन्। न्यू ल्याण्ड्स, ढेकलापाड़ा, रामझोड़ा, डिमडिमा र रायमटाङ चियाबारीमा केन्द्रहरू निर्माण सम्पन्न भए पनि अझै सञ्चालनमा आएका छैनन्। अर्कातिर दुमसीपाड़ा, तासाटी, निमतीझोड़ा, भार्नोबाड़ी, भातखावा र हण्टापाड़ा चियाबारीमा काम जारी छ। सेण्ट्रल डुवर्स र माझेराबारी चियाबारीमा हालै स्वास्थ्य केन्द्र निर्माणको अनुमति प्राप्त भएको छ। तोर्षा र लङ्कापाड़ा चियाबारीमा भने केही समस्या छ, लङ्कापाड़ा चियाबारी लामो समयदेखि बन्द छ भने तोर्षा चियाबारीमा पहिल्यै स्वास्थ्य केन्द्र भएकाले नयाँ केन्द्र निर्माण हुने छैन।
श्रम विभागको यो परियोजना उत्तर बङ्गाल विकास विभागमार्फत कार्यान्वयन भइरहेको छ। सबै चियाबारीमा एउटै ढाँचाको स्वास्थ्य केन्द्र बनाइँदैछ। यद्यपि केन्द्रहरू श्रम विभागले बनाइदिए पनि तिनीहरूको सञ्चालनको जिम्मावारी स्थानीय चियाबारी प्रशासनलाई दिइनेछ। डाक्टर, नर्स र अन्य कर्मचारीहरूको व्यवस्था चियाबारी प्रशासनले नै गर्नुपर्नेछ। श्रम विभागका अधिकारीहरूले भने, चियाबारीका नियमअनुसार श्रमिकहरूको उपचारको जिम्मा चियाबारी मालिकहरूकै हो। तर धेरै चियाबारीका अस्पतालहरूमा राम्रो चिकित्सा सेवा उपलब्ध नहुँदा श्रम विभागले नयाँ स्वास्थ्य केन्द्र निर्माण गरेहेको हो। यहाँ आउटडोर सेवा मात्र नभई इनडोर सेवा (भर्ना उपचार) पनि उपलब्ध हुनेछ। साथै ती चियाबारीहरूमा एक-एकवटा एम्बुलेन्स उपलब्ध गराउने योजना पनि श्रम विभागको छ। स्वास्थ्य विभागले जिल्लाका विभिन्न चियाबारी क्षेत्रमा स्वास्थ्य केन्द्रहरू बनाएको भए पनि अहिले श्रम विभागले एकैपल्टमा यति धेरै केन्द्रहरू बनाउँदा स्वास्थ्य सेवाको गुणस्तर धेरै राम्रो हुने विश्वास गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *