चीनसित सम्बन्धमा चिसोपन अनि हालै बिग्रिएको बङ्गलादेशको अवस्था राष्ट्रिय सुरक्षाको प्रश्नमा उत्तर बङ्गालको चिकन नेक करिडोरको महत्त्वमाथि केन्द्र र राज्य सहमत छन्। त्यसैले यहाँ दह्रो पूर्वाधारको पुनर्निर्माण अत्यावश्यक छ। केन्द्रीय सड़क परिवहन तथा राजमार्ग मन्त्रालयको सूत्रअनुसार उक्त परियोजना निर्माणको प्रश्नमा आवश्यक स्वीकृतिका लागि राज्य सरकारले केन्द्रबाट प्रमाणपत्र माग गरेको छ। यसले गर्दा यो महत्त्वपूर्ण परियोजना निर्माणमा ढिलो हुन सक्ने आशङ्का सम्बन्धित वृत्तमा छ।
चीन, भूटान, बङ्गलादेश र नेपालको सीमा क्षेत्रको 100 किलोमिटरमा चिकेन नेक करिडोर फैलिएको छ। भारत-चीन सेनाबीच डोकलाममा भएको तनाउको स्थानदेखि यस क्षेत्रको दूरी केवल 82 किलोमिटर छ। यस्तो महत्त्वपूर्ण क्षेत्रमा आपतकालीन परियोजनाको प्रमाणपत्र मागबारे प्रशासनभित्र छलफल आरम्भ भएको छ। चीनसँग सम्बन्धमा चिसोपन आरम्भ भएपछि 2022 मा चिकेन नेक करिडोरको कार्यका लागि लगभग 1000 करोड़ रुपियाँ आवण्टन गर्ने निर्णय केन्द्र सरकारले लिएको थियो। पछि उक्त पूर्वाधारअन्तर्गत थप बजेटमा टिस्टा नदीमाथि कोरोनेशन ब्रिजको विकल्पमा अर्को पुल र त्यससँग जोड़ेर जङ्गल क्षेत्रको मध्य भागबाट एलिभेटेड करिडोर निर्माण गर्ने योजना बनाइएको थियो। तर परियोजना सिलगढ़ीको बङ्गाल सफारी जङ्गल र महानन्दा वाइल्डलाइफ साङ्क्चुरीको मध्य भागबाट जाने हुँदा वन क्षेत्र सम्बन्धी विभागको अनुमति आवश्यक पर्ने देखिएको छ।
केन्द्रीय मन्त्रालयको एक अंशअनुसार वन संरक्षण संशोधन ऐन, 2023 अनुसार कुनै परियोजना क्षेत्र अन्तर्राष्ट्रिय सीमाको 100 किलोमिटरअन्तर्गत पर्छ भने त्यहाँ राष्ट्रिय सुरक्षासित सम्बन्धित पूर्वाधार विकासलाई निषेध गर्न सकिने छैन। यद्यपि सम्बन्धित क्षेत्र त्यस्तो जनजातिअन्तर्गत पर्ने हुँदा प्रमाणपत्र जारी गर्न केन्द्रलाई सूचित गर्नुपर्ने राज्य सरकारले सड़क परिवहन औ राजमार्ग मन्त्रालयलाई जानकारी दिएको छ। राज्य प्रशासनका एकजना शीर्ष अधिकारीअनुसार, सबै कानूनको अनुपालनमा केन्द्रबाट प्रमाणपत्रहरू माग गरिएको हो। अर्का एकजना अधिकारीअनुसार चालु आर्थिक वर्षअघि नै प्रक्रिया पूरा नभए समस्या थपिनेछ। राष्ट्रिय सुरक्षाको मुद्दाको रूपमा द्रुत कार्वाही उपयुक्त छ। चिकेन नेक करिडोरअन्तर्गत इस्लामपुरदेखि सिलगढ़ी हुँदै कोचबिहारसम्म मुख्य सड़कको अधिकांश भागको कार्य समाप्त भइसकेको छ। अब सिलगढ़ीभित्र बालासन पुलदेखि सेवक सेना क्याण्टोनमेण्टसम्म लगभग 12 किलोमिटर सड़कलाई चारदेखि छ लेनसम्म विस्तार गर्ने र त्यसपछि वन र वन्यजीव संरक्षण गर्दै लगभग 14 किलोमिटर एलिभेटेड सड़क निर्माण गर्ने योजना छ। तेस्रो चरणमा टिस्टामाथि कोरोनेशन ब्रिजको विकल्प साढ़े छ किलोमिटर लामो पुल निर्माण हुनेछ। यी तीन पूर्वाधारहरूले राष्ट्रिय सडक 10 र 17 लाई जोड्नेछन्। यसले सिलगढ़ीलाई गान्तोकसँग प्रत्यक्ष रूपमा जोड्नेछ। यसले सिक्किमको नथुला (भारत-चीन सीमा) पुग्न अझ सजिलो बनाउनेछ।