सिभिल अस्पतालमा १०० ‘हाफ–म्याच’ प्रत्यारोपण सफल

नेपालको सार्वजनिक स्वास्थ्य सेवामा विशेषज्ञ उपचार क्षमता विकास गर्ने दिशामा निजामती कर्मचारी अस्पताल (सिभिल सर्भिस अस्पताल)ले महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। अस्पतालले बोन म्यारो प्रत्यारोपण सेवा सञ्चालनको एक दशक पूरा गर्दै १०० वटा ‘ह्याप्लोआइडेन्टिकल’ (हाफ–म्याच) हेमाटोपोएटिक स्टेम सेल प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको छ।
उक्त उपलब्धिको अवसरमा अस्पतालले आइतबार काठमाडौंको नयाँ बानेश्वरस्थित द एभरेस्ट होटलमा एक विशेष कार्यक्रम आयोजना गरेको थियो।
कार्यक्रममा अमेरिकास्थित युनिभर्सिटी अफ इलिनोइस सिकागो (यूआईसी० का हेमाटोलोजी, अंकोलोजी तथा बोन म्यारो ट्रान्सप्लान्ट विभागका प्रमुख प्रा. डा. दामियानो रोन्डेलीले विश्वव्यापी बोन म्यारो प्रत्यारोपण सेवामा नेपालको अवस्था र हासिल गरेका उपलब्धिबारे प्रस्तुति दिएका थिए। त्यस्तै, सिभिल अस्पतालका प्रा( डा. विशेष शर्मा पौड्यालले अस्पतालको प्रत्यारोपण सेवाको उपचार नतिजा, विकासक्रम, वर्तमान अवस्था तथा भविष्यका सम्भावनाबारे प्रकाश पारेका थिए।
कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. जितेन्द्र परियारले बोन म्यारो प्रत्यारोपण सेवालाई निरन्तरता दिन र थप विस्तार गर्न आवश्यक सहयोग तथा सहकार्यको प्रतिबद्धता व्यक्त गरे। सो अवसरमा सेवा स्थापना, सञ्चालन र विकासमा पुर्‍याएको योगदानको कदर गर्दै प्रा. डा. रोन्डेली, अस्पतालको हेमाटोलोजी तथा प्याथोलोजी विभाग र हेमाटोलोजी नर्सिङ टोलीलाई सम्मान तथा प्रशंसापत्र प्रदान गरिएको थियो।
सिभिल अस्पतालमा बोन म्यारो प्रत्यारोपण सेवा विकासमा यूआईसीसँगको प्राविधिक तथा शैक्षिक सहकार्य महत्वपूर्ण रहँदै आएको छ। प्रा। डा। दामियानो रोन्डेलीको नेतृत्वमा भएको सहकार्यले प्रत्यारोपण सेवा स्थापना, प्राविधिक क्षमता अभिवृद्धि र विशेषज्ञ जनशक्ति उत्पादनमा ठूलो योगदान पुर्‍याएको छ।
अस्पतालमा सेवा विकास तथा सञ्चालनमा प्रा. डा. विशेष शर्मा पौड्याल, डा. सम्पूर्णमान तुलाधर र डा. समीर न्यौपानेसहित चिकित्सक, नर्सिङ टोली तथा प्रयोगशालामा कार्यरत स्वास्थ्यकर्मीको सक्रिय योगदान रहेको छ। स्टेम सेल प्रयोगशाला स्थापना तथा सञ्चालनमा समेत सम्बन्धित विशेषज्ञ टोलीको महत्वपूर्ण भूमिका रहेको अस्पतालले जनाएको छ।
यूआईसीले सिभिल अस्पतालको बोन म्यारो प्रत्यारोपण विभागलाई प्राविधिक सहयोग गर्ने उद्देश्यले ‘ग्लोबल बीएमटी ट्रेनिङ प्रोग्राम’ सञ्चालन गर्दै आएको छ। यस कार्यक्रममार्फत अस्पतालका चिकित्सक तथा नर्सिङ टोलीले विशेषज्ञ तालिममा सहभागिता जनाउँदै आएका छन्। यस वर्ष राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स) मा हेमाटोलोजी तथा बोन म्यारो प्रत्यारोपण विषयमा तेस्रो वर्षमा अध्ययनरत आवासीय चिकित्सक डा। नीरज शर्माले पनि उक्त तालिम कार्यक्रममा सहभागिता जनाएका थिए।
बोन म्यारो प्रत्यारोपण रक्त क्यान्सर तथा अन्य गम्भीर रक्तसम्बन्धी रोगको उपचारमा प्रयोग हुने जटिल चिकित्सा विधि हो। यसमा बिरामीको रक्तनिर्माण प्रणाली पुनःस्थापित गर्न आफ्नै वा उपयुक्त दाताबाट प्राप्त हेमाटोपोएटिक स्टेम सेल प्रयोग गरिन्छ।
प्रत्यारोपणका लागि बिरामी र दाताबीच ‘एचएलए’ मिलान महत्वपूर्ण हुन्छ। पूर्ण रूपमा मिल्ने दाता उपलब्ध नभएका बिरामीका लागि करिब ५० प्रतिशत एचएलए मिलान भएका दाताबाट गरिने प्रत्यारोपणलाई ह्याप्लोआइडेन्टिकल वा हाफ(म्याच प्रत्यारोपण भनिन्छ। यस विधिमा बिरामीका बुबा, आमा, छोरा, छोरी तथा उपयुक्त एचएलए मिलान भएका दाजुभाइ वा दिदीबहिनी सम्भावित दाता हुन सक्छन्।
यस प्रविधिले पूर्ण मिलान भएका दाता नपाएका बिरामीका लागि समेत जीवनरक्षाको सम्भावना विस्तार गरेको छ। यद्यपि, उपचारका क्रममा संक्रमण, ग्राफ्ट भर्सेस होस्ट डिजिज (जीभीएचडी) लगायतका जटिलता देखिन सक्ने भएकाले विशेषज्ञ चिकित्सकीय टोली, उपयुक्त उपचार पद्धति र निरन्तर निगरानी अनिवार्य मानिन्छ।
नेपालमै बोन म्यारो प्रत्यारोपणजस्तो जटिल उपचार सेवा विकास हुनु सार्वजनिक स्वास्थ्य प्रणालीका लागि कोशेढुंगा हो। स्वदेशमै विशेषज्ञ उपचारको अवसर विस्तार गर्न, महँगो खर्चमा विदेश जानुपर्ने बाध्यता कम गर्न र दक्ष जनशक्ति उत्पादन गर्न यस्ता सेवाले महत्वपूर्ण भूमिका खेल्छन्। सिभिल अस्पतालको एक दशक लामो यात्रा र १०० हाफ(म्याच प्रत्यारोपणको सफलताले नेपालमै उच्चस्तरीय स्वास्थ्य सेवा सम्भव छ भन्ने पुष्टि गरेको छ। अब यस्ता सेवालाई थप गुणस्तरीय, सुरक्षित र सर्वसुलभ बनाउँदै आम नागरिकको आर्थिक पहुँचमा पुर्‍याउन आवश्यक देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *