काठमाडौँमा अटिजम स्कुलको शिलान्यास

काठमाडौँ महानगरपालिकाले वडा नम्बर २९ मा अटिजम स्कुलको शिलान्यास गरेको छ ।
महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले बुधबार बिहान वडाध्यक्ष कुश ढकालसहित जनप्रतिनिधि र स्थानीयको उपस्थितिमा भवन निर्माणका लागि जग पूजा र शिलान्यास गरेकी हुन् ।
शिलान्यास कार्यक्रमपछि आयोजित समारोहलाई सम्बोधन गर्दै कार्यवाहक प्रमुख डंगोलले हरेक बालबालिकाले पढ्न पाउनुपर्ने र अरूसरह समान अधिकार पाउनुपर्ने बताइन् । अटिजम वा शारीरिक अशक्तता भएकै कारणले कुनै पनि बालबालिका शिक्षा तथा अन्य अधिकारबाट वञ्चित हुन नपर्ने वातावरण सरकारले सिर्जना गर्नुपर्ने उनको भनाइ छ ।
शारीरिक अशक्तताका कारण शिक्षा लगायतका अधिकारबाट वञ्चित बालबालिका अझै समाजमा धेरै रहेको उल्लेख गर्दै उनले त्यस्ता बालबालिकालाई सरकारले अधिकार दिनुपर्ने बताइन् । महानगरले सबैको साझा सपनामा एउटा इँटा थप्ने काम मात्र गरेको उनको भनाइ छ ।
काठमाडौँमा अटिजम भएका बालबालिका तथा उनीहरूका अभिभावकको सहयोग र सेवाको आवश्यकता बढ्दै गएको सन्दर्भमा निर्माण हुने यो भवन बहुउपयोगी हुने डंगोलले विश्वास व्यक्त गरिन् । अटिजम भएका विद्यार्थीको सीप तथा ज्ञान अभिवृद्धि गर्न, तालिम तथा अध्ययन अनुसन्धान गर्न र अभिभावकको सहायताका लागि भवन उपयोगी हुने उनले बताइन् ।
‘हरेक बालबालिकाले पढ्न, खेल्न, अवसर प्राप्त गर्न र सम्मानपूर्वक बाँच्न पाउने समान अधिकार छ,’ उनले भनिन्, ‘तर अटिजम वा शारीरिक अशक्तताका कारण शिक्षाबाट वञ्चित बालबालिका अझै हाम्रै समाजमा छन् ।’ अटिजम लगायतका बौद्धिक तथा शारीरिक अशक्तता बाधक हुनुहुँदैन भन्ने परिकल्पनाका साथ अघि बढिएको बताउँदै उनले थपिन्, ‘काठमाडौँ स्कुल फर चिल्ड्रेन विद अटिजम एण्ड रिसर्च सेन्टरको शिलान्यास गर्नुको अर्थ भवनको शिलान्यास मात्र होइन, मानवता र करुणाको शहर बनाउने साझा सपनामा एउटा इँटा थपिएको हो ।’
भवनका डिजाइनर इञ्जिनियर प्रेमबहादुर श्रेष्ठका अनुसार वडाको प्रशासनिक भवनको पूर्वतर्फ ४५० दशमलव ८० वर्गमिटर क्षेत्रफलमा भवन निर्माण हुनेछ । भवनको लम्बाइ ९२ फिट र चौडाइ पूर्वतर्फ ३५ फिट तथा पश्चिमतर्फ २२ फिट रहनेछ । १७ मिटर उचाइको पाँचतले भवनका हरेक तला ३ हजार वर्गफिटका हुनेछन् भने ३ हजार ५ सय वर्गफिटको भूमिगत तलासहित भवन कुल १८ हजार ५ सय वर्गफिटको हुनेछ ।
भूमिगत तलामा ३० वटा दुईपाङ्ग्रे सवारी साधन पार्किङ गर्ने व्यवस्था रहनेछ । जमिन तलामा खुला भाग, भर्याङ, लिफ्ट, मुख्य प्रवेशद्वार र खेल्ने खुला भाग हुनेछ । पहिलो, दोस्रो र तेस्रो तलामा तालिम तथा प्रशिक्षण कक्ष रहनेछन् भने चौथो तलामा प्रशासन र अनुसन्धान कक्ष तथा पाँचौँ तलामा बार्दली रहनेछ । आठ जना क्षमताको लिफ्ट रहने भवनका शौचालय तथा कोठाहरू पहुँचयुक्त हुने जनाइएको छ ।
भवन निर्माणका लागि १० करोड ९१ लाख ७९ हजार ६०२ रुपैयाँ लागत अनुमान गरिएकामा सार्वजनिक खरिद प्रक्रियाबाट ९ करोड ७७ लाख ४५ हजार ६२६ रुपैयाँमा सम्झौता भएको छ । निर्माण पक्षलाई २०८३ मङ्सिर ३ गते कार्यादेश दिइएको र २०८४ चैत मसान्तभित्र निर्माण कार्य सम्पन्न गरिसक्नुपर्नेछ । भवनको डिजाइन सार्वजनिक निर्माण विभागबाट तयार पारिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *