राष्ट्रिय सहकारी महासंघको आयोजनामा लुम्बिनीमा तीन दिन ‘अन्तर्राष्ट्रिय सहकारी शान्ति सम्मेलन’ हुने भएको छ । यही २४ देखि २६ मंसिरसम्म सम्मेलन आयोजना हुने महासंघले जनाएको छ ।
दिगो शान्तिका लागि न्याय, समावेशीता, समानता र सबैका लागि आर्थिक अवसर आवश्यक रहेको परिप्रेक्षमा पारस्परिक सहयोग, लोकतान्त्रिक सहभागिता र समानताका लागि गौतम बुद्धको जन्मभूमी लुम्बिनीमा सम्मेलन गर्न लागिएको आयोजनक महासंघले जनाएको छ ।
सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तित्वहरू, सहकारी अभियन्ताहरूको सहभागिता रहने बताइएको छ । सहभागिताका लागि सदस्य संघमार्फत मुलुकभित्र र मुलुकबाहिरका सहकारीकर्मीहरूलाई अनुरोध गरिएको महासंघले जनाएको छ ।
सहकारी शान्ति सम्मेलनमा सहभागी हुन स्वदेश तथा विदेशबाट उत्साहपूर्वक रजिस्ट्रेसन भइरहेको उनको भनाइ छ । सम्मेलनमा ६५० जनाको सहभागिता रहने आयोजक महासंघले जनाएको छ ।
सम्मेलनमा अन्तर्राष्ट्रिय जगतमा भएका सहकारीका असल अभ्यासहरूलाई समेत मुलुकमा आन्तरिकीकरण गरी थप सुदृढ र व्यवस्थित बनाउन बृहत् छलफल र गृहकार्य गरिने महासंघले जनाएको छ । सम्मेलनमा सहकारीको दिगोपन, वित्तीय परिचालनका उपायहरू, स्रोत परिचानलसम्बन्धी प्रस्तुतिकरण, सहकारीका लागि आवश्यक नयाँ टेक्नोलोजीका साथै सहकारी क्षेत्रका विभिन्न आयामहरूका बारेमा छलफल गरी निचोडमा पुग्ने लक्ष्य राखिएको छ ।
विज्ञान र प्रविधिमा भएको प्रगतिको बाबजुद पनि विश्वमा गरिबी, असमानता, द्वन्द्व र वातवरणीय क्षय कायम रहेको अवस्थामा यो सम्मेलनले विश्वभर समावेशी आर्थिक वृद्धि, सामाजिक सद्भाव र दिगो विकासलाई बढाउँदै सहकारीको माध्यमबाट विश्वमा शान्ति प्रवर्द्धन गर्न सकारात्मक सन्देश दिने विश्वास लिइएको छ ।
सम्मेलनमा शान्ति निर्माण र सहकारी, आर्थिक समानता र युवा तथा महिला नेतृत्व, जलवायु तथा दिगोपन, दिगो विकास लक्ष्य तथा डिजिटल रुपान्तरण र विश्वव्यापी साझेदारी जस्ता प्रमुख विषयमा कार्यपत्र प्रस्तुत हुनेछन् ।
त्यसैगरी सहकारीमार्फत शान्तिका लागि आधिकारिक लुम्बिनी घोषणापत्र, सम्मेलन कार्य प्रतिवेदन, सरकार तथा अन्तर्राष्ट्रिय सहकारी निकायका लागि कार्यान्वयनयोग्य नीति सिफारिस, अन्तर्राष्ट्रिय साझेदारी र युवा सहकार्य सञ्जाल तथा विश्व सहकारी शान्ति मञ्चको स्थापनामा सहयोग पुग्ने अपेक्षा सम्मेलनबाट गरिएको छ ।
सम्मेलनबाट अल्पाकालीन, मध्यकालीन र दीर्घकालीन नतिजा प्राप्त हुने महासंघको विश्वास छ । सहकारीको शान्तिमा योगदानबारे विश्वव्यापी सचेतना, सरोकारवालाबीच बलियो सञ्जाल, जलवायु परिवर्तनबारे छलफल र प्राविधिक ज्ञान आदान प्रदान हुनेछ ।
