जिम्मेवारी नपाएकालाई पनि समेटेर अगाडि बढ्छस ः सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई समेत समेटेर कांग्रेसलाई नयाँ ढङ्गले अघि बढाउने बताएका छन्।
सोमबार स्याङ्जामा आयोजित स्वागत तथा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै थापाले पार्टीको आन्तरिक प्रतिस्पर्धामा कोही विजेता र कोही पराजित नहुने भन्दै सबैलाई जिम्मेवारी र अवसर दिएर अघि बढ्नुपर्ने बताए।
कांग्रेस चार पुस्ताको पार्टी भएको उल्लेख गर्दै उनले केन्द्रीय समितिमा प्रतिस्पर्धा गरेका तथा वडा, क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रका विभिन्न तहमा जिम्मेवारी प्राप्त गर्न नसकेका नेता–कार्यकर्तालाई पनि अन्य भूमिकामार्फत सक्रिय बनाइने बताए।
‘पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धामा एक जनाले जित्ने र अर्कोले हार्ने भन्ने हुँदैन । हामी सबै समान हैसियत राख्छौँ । मैले अहिले प्राप्त गरेको कुरा जिम्मेवारी मात्र हो, यो स्थायी पद होइन,’ थापाले भने।
पार्टीका विभिन्न तहमा जिम्मेवारी नपाएका नेता–कार्यकर्तालाई लामो समयसम्म भूमिकाविहीन बनाएर राख्ने परिपाटी अन्त्य गर्नुपर्ने उनको भनाइ थियो। काम गर्ने इच्छा, क्षमता र योग्यता भएका सबैलाई पार्टी विधानअनुसार जिम्मेवारी दिइने उनले बताए।
पार्टीभित्र पदका आधारमा ठूलो–सानो ठान्ने तथा आसन ग्रहण र प्राथमिकताका विषयमा विभेद गर्ने परम्परासमेत परिवर्तन गर्नुपर्नेमा थापाले जोड दिए।
उनले पार्टीका आगामी अधिवेशन र आन्तरिक संरचनाबारे अनावश्यक चिन्ता गर्नुभन्दा तत्काल जनतामाझ पुग्नुपर्ने बताए। नयाँ समितिले नयाँ सोच र प्रतिबद्धतासहित जनतासँगको सम्बन्ध विस्तार गर्नुपर्ने उनको भनाइ थियो।
थापाले आगामी मंसिर महिनाभित्रै कांग्रेसबाट टाढिएका परिवार तथा मतदाताको घरसम्म पुग्ने अभियान सञ्चालन गर्न नेता(कार्यकर्तालाई आग्रह गरे।
‘पहिले कांग्रेसमा रहेका तर अहिले पार्टीमा नरहेका परिवारलाई भेट्नुपर्छ, चिन्नुपर्छ र उनीहरूको घरमा पुग्नुपर्छ,’ उनले भने।
कांग्रेसबाट टाढिएका करिब १० लाख मानिससम्म पुग्ने लक्ष्यसहित पार्टीले काम गर्नुपर्ने पनि थापाले बताए।
पार्टीका संस्थापक नेताहरूले स्थापित गरेका मूल्य र मान्यताबाट विचलित नभई वर्तमान समयका चुनौती र युवापुस्ताका प्रश्न सम्बोधन गर्न सक्ने कांग्रेस निर्माण गर्नुपर्ने उनको भनाइ थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *