हात्तीले एकपछि अर्को गर्दै तीन महिलाहरूको ज्यान लिएको छ। अर्की एक महिला गम्भीर घाइते भएर मृत्युसँग सङ्घर्ष गरिरहेकी छन्। इन्धनका लागि दाउरा सङ्कलन गर्न जङ्गल पस्नुपर्दा यस्तो ठूलो मूल्य चुकाउनुपर्ने कुरा कसैले सोचेको थिएन। यो घटना बिहीवार दिउँसो जलदापाड़ा वन्यजीव विभागको चिलापाता रेञ्जअन्तर्गत बनिया बिटको 5 नम्बर कम्पार्टमेण्टको जङ्गलमा भएको हो। घटनास्थलमै चानमनी उराँव, सुकुरमुनी कछुवा र रेखा बर्मनको मृत्यु भयो। निमु चारुवा घाइते भएकी छन्। तिनको खुट्टा भाँच्चिएको जानकारी छ। यी सबै दक्षिण मेन्दाबारीका वासिन्दा हुन्। यतिखेर महिलाहरूले वनकर्मीहरूको गस्तीबाट लुक्दै कसरी जङ्गलमा प्रवेश गरे भन्ने प्रश्न उठिरहेको छ। घटनापछि वनकर्मीहरूले सम्पूर्ण क्षेत्रमा कठोर गस्तीको व्यवस्था गरेका छन्। मृत महिलाहरूको शव शुक्रवार पोस्टमार्टमका लागि अलिपुरद्वार जिल्ला अस्पताल पठाइएको छ।
