6 वर्षदेखि अभाव र समस्यामा टिङलिङ लिम्बू धुरा गाँउका पैह्रो पीड़ितहरू

1 जुलाई 2015 मिरिक अनि टिङलिङका वासिन्दाहरूले भुल्न नसक्ने दिन हो। 1 जुलाई 2015 मा हात्तीसुँड़े पानीसितै आएको विनाशकारी पैह्रोले टिङलिङ लिम्बू धुरा गाँउको नक्सा नै परिवर्तन गरिदिएको थियो। बिहानपख लगभग 3 बजी टिङलिङ लिम्बू गाँउमा गएको पैह्रोले 19 जनाको ज्यान लिएको थियो भने धेरै मानिसहर घरविहीन बनेका थिए। गाँउको सिरानबाट सोहोरिएर आएको पैह्रोले टिङलिङ लिम्बू धुरा गाँउको अन्नबाली, प्रशुप्राणी, धन जनको धेरै क्षति गरेको थियो। टिङलिङ लिम्बू धुरा गाँउमा गएको पैह्रोले सुवेदी परिवारको 11 जना सदस्यहरूको ज्यान लिएको थियो भने आजसम्म रामलाल सुवेदी, कुमारी सुवेदी अनि श्लोक सुवेदीको मृतदेहसम्म भेटिएको छैन। पैह्रोमा ज्यान गुमाउने 19 जनामध्ये सुवेदी परिवारका 11 सदस्य थिए अनि मोहनलाल मगर, सुवास आलेको परिवारले पनि पैह्रोको चपेटमा परेर ज्यान गुमाएका थिए। टिङलिङ लिम्बू धुरा गाँउमा विनाशकारी पैह्रो गएको आज 6 वर्ष पुगे पनि पैह्रोको सम्झना टिङलिङ वासिन्दाको मनमा आलै छ। हाल पैह्रोमा घर क्षति हुनेहरूको पुनर्वास भएको छ भने पैह्रो पीड़ितहरूलाई टिङलिङ टौवानजिक चियाबारीले जमीन प्रदान गरेपछि पुनर्वास गरिएको छ।

1 जुलाई 2015 को पैह्रोमा ज्यान बाँचेको बीआर राणाले टिङलिङ लिम्बू धुरा गाँउको पैह्रोबारे सम्झना हुँदा आज पनि आङ जिरिङ हुने बताए। तिनले भने, पैह्रो नआएसम्म गाँउमा सुन्दर वातवरण थियो। उज्यालो थियो गाउँ, खेती बारी थियो। तर 1 जुलाईको भुकभुकेमा माथिबाट पैह्रो झरेर गाँउको नाम निशान नै मेटाइदियो। हेर्दाहेर्दै एक एक गर्दै घरहरू पुरिन थाले। छिमेकीहरूलाई पैह्रोले पुऱ्यो। मलाई पनि पैह्रोले पुरेको थियो। तर कसरी म भाग्यले बाँचेँ। मेरो घर पैह्रोले बगाइदियो। तिनले टिङलिङ लिम्बू धुरा गाँउमा जस्तो घटना कतै पनि नहोस् भन्ने चाहना व्यक्त गर्दै भने, हामीले धेरै दुख पाएका छौँ। पैह्रोको बेला सबैले यो गरिदिन्छु अनि त्यो गरिदिन्छु भन्यो। तर पुनर्वासकै लागि धेरै समय लाग्यो। आज हामीलाई केवल घर बनाउने मात्र जमीन प्रदान गरेको छ। घर कुचुरोमा छ। एउटा घरको बलेसीको पानी अर्काको बलेसीमा झर्छ। एक चपारो माटो खन्दा पनि चियाबारीले रोक लगाँउछ।

विगतलाई सम्झना गर्दै तिनले भने, पैह्रो जानअघि गाँउमा धेरै जमीन थियो। साग-सब्जी हुन्योई । गाई बस्तु पालिन्थो। यहाँ त केही छैन। साँघुरो छ। त्यसैले म पैह्रोले क्षति गरेको भए पनि हाम्रो बारी हेर्न दैनिक जाने गर्छु। सम्झेर ल्याँउदा साह्रै दुख लाग्छ। तिनले पैह्रोको समय राहत शिविरमा बसेको पलहरूलाई प्नि सम्झना गरे।अन्य पैह्रो पीड़ित कालू सुब्बा, तिलक लुङ्गेलीले भने, जसोतसो हाम्रो पुनर्वास त भयो तर जहाँ हामीलाई पुनर्वास गराइयो त्यहाँ धेरै समस्या र अभाव छ। पुनर्वास गराइएको ठाँउमा पानीको कुनै व्यवस्था छैन। साग-सब्जी रोप्ने कोठेबारी छैन। घरको छानाबाट बिजुलीको हाइटेन्सन तारहरू लगिएको छ जसले गर्दा हामीले पैह्रो भन्दा ज्यादा जोखिम अनुभव गरिरहेका छौँ। पैह्रोमा सर्वस्व गुमाएका सबैको पुनर्वास भइसके पनि कतिजना आज पनि टिङलिङ लिम्बू धुरा गाउँमै पैह्रोको जोखिममा बसिरहेका छन्। तिनीहरूले पनि लामो समयदेखि सुरक्षित स्थानमा पुनर्वासको माग गरिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *