नेपाल–भारत सीमापार रेलमार्गसम्बन्धी परियोजनासम्बन्धी बैठक सम्पन्न

नेपाल र भारतबिच सीमापार रेलमार्ग परियोजनाहरूको कार्यान्वयन र रेल क्षेत्रको समग्र द्विपक्षीय सहयोगको समीक्षा गर्न आयोजित परियोजना सञ्चालन समितिको १०औँ तथा संयुक्त कार्य समूहको आठौँ बैठक काठमाडौँमा सम्पन्न भएको छ।
बैठकमा दुवै देशका प्रतिनिधिहरूले भारत सरकारको अनुदान सहयोगमा बनिरहेका विभिन्न रेलमार्गका विषयमा विस्तृत छलफल गरेका छन्। काठमाडौँस्थित भारतीय दूतावासका अनुसार बैठकमा विशेषगरी भारत–नेपालबिचको जयनगर–बिजलपुरा–बर्दिबास र जोगबनी–विराटनगर ब्रोडगेज रेलमार्गको हालको प्रगतिबारे समीक्षा गरिएको छ।
यसपटकको बैठकमा बहुप्रतीक्षित जनकपुर–अयोध्या खण्डमा यात्रुवाहक रेल सेवा सञ्चालन गर्ने विषयले प्राथमिकता पाएको छ। सो खण्डमा रेल सेवा सुरु गर्न आवश्यक पर्ने मानक सञ्चालन कार्यविधि (एसओपी) का बारेमा दुवै पक्षबिच छलफल भएको छ।
यसका साथै, काठमाडौँलाई भारतसँग जोड्ने रक्सौल–काठमाडौँ ब्रोडगेज रेलमार्गको अन्तिम स्थान निर्धारण सर्वेक्षण (एफएलएस) प्रतिवेदन, पूर्व–पश्चिम रेलमार्गका लागि प्राविधिक सहयोग तथा थप नयाँ रेलमार्गको सम्पर्क विस्तार गर्ने विषयमा पनि बैठकमा कुराकानी भएको छ।
नेपाल र भारतबिच सीमापार रेल सञ्जाललाई अझ मजबुत बनाउन दुवै देशका अधिकारीहरूले जोड दिएका छन्। रेल क्षेत्रको सहयोगलाई थप सुदृढ र प्रभावकारी बनाउन आगामी दिनमा पनि निकट समन्वय र सहकार्यलाई निरन्तरता दिन दुवै पक्ष सहमत भएको दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *