एजेन्सी: रास्वपा नेता गणेश कार्कीले १० जना जेनजी अगुवाहरूको नाम राष्ट्रपति कार्यालयलाई दिएका छन् । राष्ट्रपति कार्यालयले वार्ताका लागि आह्वान गरेपछि कार्कीले मध्यस्थता गर्न खोजेका हुन् ।
अहिले जेनजीका अनेकन् समूहहरू भएको र सरकारविहिनताको स्थिति रहेकाले कसले कोसित वार्ता गर्ने भन्ने अन्योल छ । जेनजीहरुले कुनै वार्ता कमिटी पनि बनाउन सकेका छैनन् । को अघि सर्ने भन्नेमै अस्पष्टता देखिएको छ । यस्तोमा केही जेनजीहरुले रास्वपा नेता कार्कीलाई राष्ट्रपति कार्यालयमा नाम पुर्याइदिन आग्रह गरेका थिए ।
जेनजी समूहहरूबाट अनुरोध भए अनुसार आफूले करिब एक दर्जन प्रतिनिधिको नाम पठाएको कार्कीले नेपाल प्रेसलाई जानकारी दिए । तर, राष्ट्रपति कार्यालयले वार्ता गर्छ गर्दैन र गरे पनि क–कसलाई राख्छ भन्ने आफूलाई थाहा नभएको उनको भनाइ छ ।
कार्कीले भने, ‘जेन जीका साथीहरूले पनि मलाई कोअर्डिनेसन गरिदिनुस् भनेर अनुरोध गर्नुभयो । त्यही भएर मैले राष्ट्रपति कार्यालयमा सम्पर्क गरेको हुँ । अब मैले पठाइदिएकै प्रतिनिधिहरू सर्वस्वीकार्य नहुन सक्छन् । साथै, राष्ट्रपति कार्यालयले यसलाई मान्यता दिन्छ वा दिँदैन भन्ने मलाई थाहा छैन ।’
बुझिए अनुसार अहिलेसम्म युजन राजभण्डारी, प्रदीप ज्ञवाली, रक्ष बम, रिजन रानामगर, नविन राई, उपार्जन चाम्लिङलगायत दर्जन प्रतिनिधिको नाम उनले पठाएका छन् । यस्तै, अनुषा खनाल, निरज गौतम ‘गोतामे’, सुश्मिता क्षेत्री, आकृति घिमिरे, सुयशा शाक्य, मोनिषा चौधरी लगायतको नाम पनि छ । यो सूचिमा सुरुवातदेखि लागेका अभिजित अधिकारी, तनुजा पाण्डे लगायतको नाम भने छैन ।
You may also like
-
हुम्लाको डाँडाफयामा भालुको आतङ्क, नियन्त्रणमा नलिए जनधनको क्षति हुनसक्ने सम्भावना
-
विपत्तिको कहर: १९ जिल्लामा मानवीय क्षति
-
पेट्रोलियम पाइपलाइनबाट साढे ६ अर्ब लिटर इन्धन आयात, वार्षिक तीन अर्ब ढुवानी बचत
-
जोखिमयुक्त मानिसहरुको रक्षाका लागि कोशी प्रदेश स्तरीय मानवअधिकार सहायता कक्ष गठन
-
यति धेरै जनधनको क्षति हुँदा पनि ओलीमा कुनै पश्चाताप छैन : प्रचण्ड
