रसुवामा आएको आकस्मिक बाढीमा परी हालसम्म ४०३ जना नेपाली तथा विदेशी नागरिक बेपत्ता भएको विवरण सार्वजनिक भएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त पछिल्लो विवरणअनुसार बेपत्ता हुनेमा २०३ जना महिला र २०० जना पुरुष रहेका छन्।
बेपत्ता हुनेमध्ये ३४१ जना विदेशी नागरिक रहेका छन्। तीमध्ये १३३ जना भारतीय नागरिक छन्। यस्तै, ६२ जना नेपाली नागरिक बेपत्ता भएको विवरणमा उल्लेख छ।
रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीपछि टिमुरे, स्याफ्रुबेसीलगायतका क्षेत्रमा ठूलो क्षति भएको छ। बाढीका कारण थुप्रै मानिस सम्पर्कविहीन भएपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्धार तथा खोजी कार्य जारी राखेका छन्।
यद्यपि, बाढी प्रभावित क्षेत्रमा सडक तथा पुललगायतका संरचना क्षतिग्रस्त हुनुका साथै नदीको बहाव तीव्र रहेकाले खोज तथा उद्धारमा कठिनाइ भइरहेको छ।
