बाढीपीडितका लागि भारतले दियो १० टन राहत सामग्री

भारत सरकारले नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि १० टन मानवीय सहायता सामग्री तथा अत्यावश्यक औषधि उपलब्ध गराएको छ।
बाढीप्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यका लागि पठाइएको उक्त पहिलो किस्ताको सामग्री नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेललाई हस्तान्तरण गरेका हुन्। उक्त सामग्रीले बाढी प्रभावित क्षेत्रमा भइरहेको उद्धार तथा राहत कार्यमा सहयोग पुर्‍याउने विश्वास लिइएको छ।
सामग्री हस्तान्तरणका क्रममा राजदूत श्रीवास्तवले यस विषम परिस्थितिमा भारत सदैव नेपाल र नेपाली जनताको साथमा रहेको प्रतिबद्धता व्यक्त गरेका छन् ।
भोटेकोसीसहित देशका विभिन्न नदीमा आएको भीषण बाढीका कारण ठूलो जनधनको क्षति भएको छ। बाढीग्रस्त क्षेत्रहरूमा खोज, उद्धार तथा राहत वितरण कार्य तीव्र पारिएका बेला भारतले यो मानवीय सहयोग पुर्‍याएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *