प्रधानमन्त्री वालेन शाहले योजना निर्माण र नीतिगत अनुसन्धान व्यवस्थित भएमा मात्र सरकारलाई सेवा प्रवाहमा सहजता मिल्ने बताएका छन् ।
प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानजस्ता निकायलाई खारेज गर्नुको सट्टा सुधारमार्फत सुदृढ बनाउँदै सरकारको सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने सकिने बताए ।
आयोग र प्रतिष्ठानका पदाधिकारी तथा कर्मचारीसँग भएको मंगलबार भएको छलफलमा प्रधानमन्त्री शाहले योजना निर्माण र नीतिगत अनुसन्धान व्यवस्थित भएमा मात्र सरकारलाई सेवा प्रवाहमा सहजता मिल्ने र यी निकायलाई सुधार गर्न सके सरकार सञ्चालनमा ठुलो सहयोग पुग्ने बताए ।
उनले भने, ‘विषयविज्ञ र अनुसन्धानकर्ताको महत्त्व कति रहन्छ भन्ने हामीलाई थाहा छ । हामीलाई यस्तो उत्कृष्ट विज्ञता चाहिएको हो, जसले जनप्रतिनिधिले भन्दा पनि गहिरो अध्ययन र दूरगामी सोच प्रस्तुत गर्न सकून् । सरकारले विज्ञको प्राज्ञिक कार्यलाई पूर्ण रूपमा ग्रहण गर्नेछ ।’
प्रधानमन्त्रीले कुनै पनि बहानाबाजी नगरी विना सङ्कोच नतिजा निकाल्ने गरी काम गर्न दुवै निकायलाई निर्देशन दिए। ‘कुनै पनि कार्यसम्पादन गर्दा ठोस योजना र सजग कार्यान्वयन आवश्यक हुन्छ। विकासमा विषयविज्ञको भूमिका अतुलनीय हुन्छ, यो तथ्यलाई आत्मसात् गरेर अघि बढ्नुस्,’ उनले भने।
मन्त्रालयबीच समन्वय नभएको भन्ने तर्क स्वीकार्य नहुने स्पष्ट पार्दै उनले एउटै सरकार मातहत त्यस्तो समस्या हुन नहुने बताए । बजेट र कानुनी जटिलतालाई काम नगर्ने बहानाका रूपमा प्रयोग नगर्नसमेत उनले सचेत गराए।
‘प्रभावकारी अध्ययन र अनुसन्धानबाट मात्रै परिणाम सम्भव छ। पुराना नीति र ऐनकै भरमा ५० वर्षसम्म काम त चलाउन सकिएला, तर सुधार नगरेसम्म देश समृद्ध हुन सक्दैन’ प्रधानमन्त्रीको भनाइ थियो ।
छलफलका क्रममा आयोगका पदाधिकारीले आफ्नो क्षेत्रको कार्यप्रगति, चुनौती र बजेट अवस्थाबारे प्रधानमन्त्रीसमक्ष बिफ्रिङ गरेका थिए। प्रतिष्ठानका कर्मचारीले हालसम्मका अध्ययन(अनुसन्धान सरकारी कार्यप्रणालीका लागि निकै महत्त्वपूर्ण रहेको उल्लेख गर्दै थप जनशक्ति र स्रोतसाधनको मागसमेत गरे। प्रधानमन्त्रीसँगको प्रत्यक्ष संवादले आफूहरूलाई थप ऊर्जा र मेहनतका साथ काम गर्ने प्रेरणा मिलेको उनीहरुको भनाइ छ ।
