लोकप्रियताको कसीमा उल्टो बाटोतिर नेपाली क्रिकेट

११ असोज २०७६ सालमा नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्ष निर्वाचित हुँदै गर्दा चतुरबहादुर चन्दले नेपाललाई आफ्नै कार्यकालमा टेस्ट राष्ट्रको मान्यता दिलाउने लक्ष्य राखेको बताएका थिए। आफ्नो पहिलो कार्यकालको सुरुआत गर्ने क्रममा उनले भनेका थिए, “एकदिवसीय मान्यतालाई कायम राख्दै नेपाललाई उदीयमान राष्ट्रबाट टेस्ट राष्ट्र बनाउने गरी तयारी सुरु भइसकेको छ। यसलाई मेरो कार्यकालभित्र सफल बनाउने लक्ष्य छ।”

अध्यक्षको रूपमा उनको यो दोस्रो कार्यकाल हो। क्यानको विधानमा अध्यक्ष पदमा दुई कार्यकाल मात्र लड्न पाउने प्रावधान छ। यस हिसाबले उनले क्यानबाट बिदा लिन डेढ वर्ष मात्र बाँकी छ। यस अवधिमा उनले क्यानलाई टेस्ट राष्ट्रको सूचीमा समावेश गराउने कुरा त सपना भइहाल्यो, आफ्नो कार्यकाल अवधिभर ढंगको क्यालेन्डर पनि बनाउन सकेनन्। अझ यतिबेला क्यानले प्राप्त गरेको २०२७ सम्मको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता पनि गुम्ने खतरा उत्तिकै छ।

यस्तो अवस्थामा क्यानले गत शनिबार आफ्नो वार्षिक क्यालेन्डर सार्वजनिक गर्‍यो। तर, दुःखको कुरा उक्त क्यालेन्डरमा बहुदिवसीय क्रिकेटलाई आफ्नो योजनामा राख्ने त टाढाको कुरा, नेपाली क्रिकेटले विगतमा प्राप्त गरेको उपलब्धिलाई संस्थागत गर्ने योजना पनि देखिँदैन।

क्यालेन्डरमा टेस्ट क्रिकेटको मेरुदण्ड मानिने पाँचदिने प्रतियोगिता समावेश छैन। जय ट्रफीलाई पनि १० दिनमा खुम्च्याइएको छ। नयाँ भनिएका लामो फर्म्याटका महिला प्रतियोगिता पनि आयोजना हुने हुन् कि होइनन्, अत्तोपत्तो छैन।

ढर्रा पुरानै

क्यान अध्यक्षको कुरा पुरानो भइसकेको छ। क्रिकेटप्रेमीहरूले उनको कुरालाई गम्भिरताका साथ लिन छोडिसकेको अवस्थामा पहिलोपल्ट सचिव बनेका पारस खड्काले यसै वर्षदेखि टेस्ट राष्ट्रको पुरानै कुरालाई दोहोर्‍याएका छन्। अझ, उनले सिंगापुरमा आयोजना भएको अन्तर्राष्ट्रिय क्रिकेट परिषद्‌ (आईसीसी) को बैठकमा नेपाल टेस्ट राष्ट्र बन्न तयार रहेको सन्दर्भ कोट्याएर अध्यक्ष चन्दलाई हौसाएका थिए।

तर, क्यालेन्डर सार्वजनिक भएपछि सबै निराश छन्। सचिव खड्काको पृष्ठभूमि अध्यक्ष चन्दजस्तो राजनीतिक र क्रिकेट नबुझ्ने (पारस खड्काको तुलनामा) पक्कै होइन्।

लामो समय राष्ट्रिय टोलीको कप्तान हुँदै व्यवस्थापनमा होमिएका उनी एकदिवसीय विश्वकपमा छनोटको आधार मानिने लिग–२ खेलिरहेका नेपाली खेलाडीलाई आफ्नै कार्यकालमा टेस्ट क्रिकेट खेलाउने सपना बाँडिरहेका छन्। यहीँबाट प्रश्न उठ्नु सान्दार्भिक छ– के नेपाली क्रिकेटमा ‘रेड बल’ संस्कार विकसित भइरहेको छ?

क्यानले सार्वजनिक गरेको वार्षिक क्यालेन्डर हेर्दा यसको उत्तर स्पष्ट छ– अहँ छैन।

भर्खरै सार्वजनिक क्यालेन्डरमा क्रिकेट गतिविधि प्रशस्त छन्। तर, तीमध्ये अधिकांश छोटो फर्म्याटमा मात्र केन्द्रित छ। गत वर्षदेखि सुरु भएको ‘रेड बल’ क्रिकेट प्रतियोगिता जय ट्रफीलाई पनि जम्मा १० दिनमा सीमित राखिएको छ। त्यसमा पनि प्रधानमन्त्री कप एकदिवसीय प्रतियोगिताका शीर्ष चार टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब र बागमती प्रदेशले मात्र खेल्ने छन्। क्यानका अनुसार यो प्रतियोगिताका खेल लिग चरणमा दुई दिन र फाइनल भने तीन दिनको हुनेछ।

लामो फर्म्याटमा खेल्न सक्ने गुण कुनै खेलाडीमा जन्मजात हुँदैन। न त नेट सेसन वा छोटो प्रतियोगिताबाट नै विकसित हुन्छन्। बारम्बार असफल भएर, दबाबमा टिकेर, खराब पिचमा संघर्ष गरेर र कठिन परिस्थितिमा निर्णय लिँदै यी गुणहरू विकसित हुने गर्छन्। भारतका ब्याटर रणजी ट्रफीमा सयौं घण्टा ब्याटिङ, बलिङ र फिल्डिङ गरेर निखारिन्छन्। अस्ट्रेलियाका बलर सेफिल्ड सिल्डमा लामो स्पेल बलिङ गरेर परिपक्व हुन्छन्। बाङ्लादेशले पनि क्रिकेटमा कमजोर प्रदर्शन गरिरहेकै बेला राष्ट्रिय क्रिकेट लिगलाई निरन्तरता दिएर बिस्तारै आफ्नो आधार बलियो बनाएको हो।

भारतले आफूलाई अन्तर्राष्ट्रिय क्रिकेटमा उत्कृष्ट राख्न रणजी ट्रफी, दलिप ट्रफी, विजय हजारे, सैयद मुस्ताक अलीजस्ता घरेलु प्रतियोगिता आयोजना गर्छ र त्यसमा राष्ट्रिय खेलाडीले खेल्नैपर्ने अनिवार्य सर्त राखिएको छ। उक्त प्रतियोगिता नखेल्दा राष्ट्रिय टोलीमा छनोट नगराउने, केन्द्रीय अनुबन्धमा नराख्ने, भुक्तानी/म्याच शुल्क कटौती गर्ने वा अन्य अनुशासनात्मक कारबाही गर्ने नियम बनाएको छ।

“बहुदिवसीय खेल खेल्दा टी–२० र एकदिवसीय क्रिकेट खेल्न सजिलो हुन्छ। लामो खेल हुने भएकाले शरीरको सहनशक्ति बढ्छ, मानसिक ध्यान र धैर्य मजबुत हुन्छ। खेलको रणनीति बुझाइ पनि बढ्छ। त्यसैले छोटो फर्म्याटका खेलमा आउने दबाब र तीव्रता सजिलै सामना गर्न सकिन्छ,” पूर्वलेग स्पिनर प्रधान भन्छन्।

क्यानले आफ्नो क्यालेन्डरमा समावेश गरेका प्रतियोगिताहरू नयाँ होइनन्, अधिकांश पुरानै छन्। प्रधानमन्त्री कप, नेपाल प्रिमियर लिग (एनपीएल), स्कुल, यू–१६ र यू–१९ प्रतियोगिता, जिल्ला र प्रदेश छनोटलगायतका प्रतियोगिता पुरानै हुन्। फरक भनेको नेताको नाममा हुने प्रतियोगिता यसपल्ट क्यानको तालिकामा छैन।

खाडल बढाउँदै क्यान

क्यानले राष्ट्रिय टोलीका खेलाडीलाई व्यस्त राख्ने र घरेलु खेलाडीलाई केही प्रतियोगितामा सीमित राख्ने क्यालेन्डर बनाउँदा प्रदर्शनको खाडल अझ बढ्ने देखिन्छ। किनभने सिनियर खेलाडीले घरेलु प्रतियोगिता छोड्दा नयाँ खेलाडीले अवसर पाउने सम्भावना नै कम हुन्छ। यसले घरेलु क्रिकेटको महत्त्वसम्म घटाउने निश्चित हुन्छ। साथै, नयाँ खेलाडीले सिक्ने अवसर पनि कम पाउने गर्छन्।

त्यसैले राष्ट्रिय टोलीको छनोट पारदर्शी राख्न गाह्रो हुन सक्छ। सन् २०१४ मा बाङ्लादेशमा आयोजना भएको टी–२० विश्वकप खेलेपछि नेपाली टोलीले लामो समय अन्तर्राष्ट्रिय मञ्चमा संघर्ष गर्नुपरेको थियो। त्यसपछि सोही मञ्चमा फर्किन करिब एक दशक लाग्यो। नेपालले सचिव खड्काकै कप्तानीमा तीन र सन्दीप लामिछानेको कप्तानीमा एकपल्ट विश्वकप छनोट खेल्यो। तर, उक्त सफलता दोहोरिन सकेन।

२०२३ मा घरेलु मैदानमा भएको अर्को छनोटमा नेपालले नयाँ कप्तान पायो रोहितकुमार पौडेल। कान्छो कप्तानको नेतृत्वमा नेपालले अघिल्लो छनोटमा यूएईसँग बेहोरेको बदला मात्र लिएन, आठ विकेटले जित निकाल्दै एक दशकपछि विश्वकपमा पुनरागमन गर्न सफल भयो। यसपल्ट पनि उनकै कप्तानीमा नेपालले लगातार विश्वकपको ढोका खोलेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *