नेपाल र भारतका सीमा सुरक्षा अधिकारीहरूबीच सीमा व्यवस्थापन, सीमा अपराध नियन्त्रण र तेस्रो मुलुकका नागरिकको अवैध आवागमन नियमनलगायतका विषयमा छलफल गर्न १०औँ द्विपक्षीय समन्वय बैठक काठमाडौंमा सुरु भएको छ।
सशस्त्र प्रहरी बल, नेपाल र भारतको सशस्त्र सीमा बल (एसएसबी) बीच सुरु भएको बैठक कात्तिक १३ गतेसम्म सञ्चालन हुनेछ।
बैठकमा खुला सीमाको प्रभावकारी व्यवस्थापन, सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण तथा दुवै देशका सुरक्षा निकायबीच सूचना आदानप्रदान र सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल हुनेछ।
बैठकमा नेपालको प्रतिनिधिमण्डलको नेतृत्व सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले गरेका छन्।
नेपाली प्रतिनिधिमण्डलमा गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र नापी विभागका प्रतिनिधि सहभागी छन्।
त्यसैगरी, भारतीय प्रतिनिधिमण्डलको नेतृत्व सशस्त्र सीमा बल (एसएसबी) का महानिर्देशक सञ्जय सिंघलले गरेका छन्।
भारतीय पक्षबाट गृह मन्त्रालय, विदेश मन्त्रालय, नेपालस्थित भारतीय राजदूतावास र एसएसबीका उच्च अधिकारी सहभागी छन्।
बैठकमा सीमा क्षेत्रमा हुने मानव तस्करी, लागूऔषध ओसारपसार, अवैध हातहतियार तथा अन्य सामग्रीको तस्करी नियन्त्रणका लागि भइरहेका प्रयासको समीक्षा गरिनेछ।
सीमा क्षेत्रमा शान्ति तथा सुव्यवस्था कायम गर्ने र दुवै देशका सुरक्षा निकायबीचको समन्वय थप सुदृढ बनाउने विषयले पनि प्राथमिकता पाउनेछ।
त्यस्तै, दशगजामा भएका अतिक्रमण हटाउने, सीमा स्तम्भको संरक्षण, मर्मतसम्भार तथा निर्माण र सीमापार आपराधिक गतिविधि नियन्त्रणका विषयमा छलफल हुनेछ।
सीमापार फैलिन सक्ने महामारी तथा विपद्को जोखिम न्यूनीकरण गर्न नियमित समन्वय बैठक र तत्काल सूचना आदानप्रदानलाई प्रभावकारी बनाउने विषय पनि बैठकको कार्यसूचीमा छ।
नेपाल–भारत खुला सीमाको प्रयोग गरी तेस्रो मुलुकका नागरिकले गर्न सक्ने अवैध आवागमनलाई कडाइका साथ नियमन गर्ने विषयमा समेत दुवै पक्षले विचारविमर्श गर्नेछन्।
सीमा व्यवस्थापनलाई चुस्त, प्रभावकारी र आधुनिक बनाउन उपयुक्त प्रविधिको प्रयोग तथा दुवै सुरक्षा संगठनको क्षमता अभिवृद्धि र संस्थागत सहयोग विस्तारका विषयमा पनि छलफल हुनेछ।
सीमा नाकाबाट आवतजावत गर्ने यात्रुलाई सहज सेवा उपलब्ध गराउन थप सहायता कक्ष स्थापना गर्ने तथा विपद् पूर्वतयारी र प्रतिकार्यमा संयुक्त सहकार्य बढाउने विषयले पनि बैठकमा स्थान पाउनेछ।
सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकसँगको सम्बन्ध सुदृढ बनाउन र दुवै सुरक्षा निकायबीच आपसी विश्वास बढाउन मैत्रीपूर्ण खेलकुदलगायतका गतिविधि सञ्चालन गर्ने विषयमा समेत छलफल हुने सशस्त्र प्रहरी बलले जनाएको छ।
सीमा क्षेत्रमा उत्पन्न हुन सक्ने समस्या र चुनौतीको समयमै पहिचान तथा समाधानका लागि नियमित सम्पर्क, प्रभावकारी सूचना आदानप्रदान र संस्थागत समन्वयलाई निरन्तरता दिने विषयमा पनि बैठक केन्द्रित हुनेछ।
बैठकले नेपाल र भारतबीचको परम्परागत मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउँदै सीमावर्ती क्षेत्रमा शान्ति, सुरक्षा र सद्भाव कायम गर्न दुवै देशका सीमा सुरक्षा निकायबीचको सहकार्यलाई प्रभावकारी बनाउने अपेक्षा गरिएको सशस्त्र प्रहरी बलका प्रवक्ता तथा सशस्त्र प्रहरी नायब महानिरीक्षक नेत्रबहादुर कार्कीले बताएका छन् ।
