बिहीवार अस्थायी कर्मचारी पक्राउको विरोधले नर्थ बङ्गाल मेडिकल कलेज औ अस्पताल तनाउग्रस्त बन्यो। बिहानैदेखि काम बन्द गरी अस्थायी कर्मचारीहरूले प्रदर्शन गर्दा रोगी सेवा प्रायः ठप्प भएको छ। अन्तर्विभागसितै वहिर्विभागमा पनि सेवा ठप्प भएको छ। टाढ़ा-टाढ़ाबाट आएका हजारौँ रोगीहरू दिनभरि हैरानीको शिकार बने। बिहान 11 बजीसम्म पनि अधिकांश वहिर्विभागको तालाचाबी खोलिएको थिएन। बन्द रहेको सेण्ट्रल ल्याबसहित अन्य सेवाहरू पनि प्रभावित भए। दिउँसो अस्पताल सुपरिण्टेण्डेण्टलाई घेराउ गरी आन्दोलनकारीहरूले विरोध प्रदर्शन गरे। यस घटनाले गर्दा पूरै मेडिकल कलेज परिसर तनाउग्रस्त बन्यो।
स्मरण रहोस्, दुई दिनअघि फोहोर सङ्कलन गर्ने स्थानको तालाचाबी तोड़ेर केही सामग्री चोरी भएको मेडिकल पुलिस चौकीमा अस्पताल सुपरले आरोप लगाएका थिए। त्यसै आधारमा पुलिसले एकजना अस्थायी कर्मचारीलाई पक्राउ गरेको थियो। त्यसैको विरोधमा बुधवारदेखि उत्तर बङ्गाल मेडिकल कलेज औ अस्पतालका अस्थायी कर्मचारीहरूले लगातार काम बन्द गरेका छन्।
क्रिसमसको अवसरमा बुधवार सरकारी बिदा रहँदा वहिर्विभाग बन्द थियो। तर अस्थायी कर्मचारीहरूको काम बन्दले हिजो पनि विभिन्न अन्तर्विभागका सेवाहरू प्रभावित बनेका थिए।
उक्त अस्थायी कर्मचारीलाई झुटो चोरीको आरोप लगाएर उद्देश्यप्रेरित ढङ्गले पुलिस लगाएर पक्राउ गरिएको आन्दोलनकारीहरूले आरोप लगाएका छन्। उक्त कर्मचारीलाई नछोड़ेसम्म आन्दोलन जारी रहने अस्थायी कर्मचारी विजय मल्लिकले बताए। अर्कातिर अस्पताल सुपर डा. सञ्जय मल्लिक भने, मेडिकलको फोहोर सङ्कलन गर्ने स्थानबाट तालाचाबी तोड़ेर चोरी भएको छ। त्यस घटनामा पुलिसलाई कार्वाही गर्न निवेदन गरिएको थियो। पुलिसले जाँच गरेर दोषीलाई पक्राउ गरेको छ। त्यसमा मैले गर्न सक्ने केही छैन। यसरी चल्ने हो भने सबैलाई नै छोड्नुपर्छ। कुनै चोरी, डकैती हुँदा पनि कार्वाही गर्न नसकिने हुन्छ। मेडिकल प्रशासनद्वारा गरिएको उजुरीकै आधारमा कार्वाही गरिएको पुलिसले पनि जनाएको छ।