सन् 2020 मा राष्ट्रिय शिक्षा नीति चालु गरेपछि शिक्षामा केही सुधारको आशा गरिएको थियो। लगभग तीन दशकपछि उच्च शिक्षामा आमूल परिवर्तन ल्याउने यस नीतिमा आभास थियो। तर आशा र वास्तविकतामाझ आकाश पतालको फरकले अहिले पनि राष्ट्रिय शिक्षा नीतिको पूर्ण कार्यान्वयनमा धेरै बाधाहरू रहेका छन्। पारम्परिक पुस्तकमुखी शिक्षाबाट बाहिर निकालेर विद्यार्थीहरूलाई दक्ष जनशक्ति बनाउने उद्देश्य नै यस नीतिको मूल विचार थियो। तर शिक्षामा थोरै बजेट आवण्टन र ग्रामीण भारतको कमजोर पूर्वाधारको कारण यस प्रयासलाई ठूलो धक्का लागेको छ। भारत जस्तो विकासशील राष्ट्रमा जहाँ स्नातक (ग्राजुएट) तहलाई नै न्यूनतम योग्यता मानिन्छ त्यहाँ अमेरिकाको शैक्षिक मोडलको अन्धो अनुकरणले थप समस्याहरू निम्त्याएको छ।
यी समस्याहरू समाधान गर्नको साटो विश्वविद्यालय अनुदान आयोग (युजीसी)ले चार वर्षपछि फेरि नयाँ शिक्षा नीतिको संक्षिप्त खाका ल्याएको छ। यस नीतिले वर्षमा दुईपटक भर्ना, जुनसुकै समयमा पाठ्यक्रम सक्ने स्वतन्त्रता जस्ता विषयहरूलाई प्रस्ताव गरेको छ। सुन्दा राम्रो लागे पनि एकजना स्थायी शिक्षकहरूद्वारा सञ्चालन गरिने उच्च शिक्षा संस्थानमा यस्तो नीतिको कार्यान्वयन लगभग असम्भव छ। महाविद्यालयहरूको चर्चा नगरे हुन्छ। हाम्रो राज्यमा अहिले पनि यस्तो विश्वविद्यालय छ जसको स्थायी भवन, शिक्षक अनि कर्मचारी नै छैनन्। बजेटमा पनि राशि भुक्तानको कुनै प्रावधान छैन। तर पनि त्यहाँ विद्यार्थी युनियन भने सक्रिय छ। यही नै अमेरिकासित मिल्दैन। शिक्षा संस्थानहरूमा राजनीतिले होइन शिक्षाले प्राथमिकता पाउन सके मात्र राष्ट्रिय शिक्षा नीतिका महत्त्वाकाङ्क्षी लक्ष्यहरू पूरा गर्ने पथमा हामी अग्रसर बन्न सक्नेछौँ।
शैक्षिक संस्थानको गुणस्तर मापन गर्न एनएएसी (नेशनल एसेसमेण्ट एण्ड एक्रिडिएशन काउन्सिल) नामक नियामक संस्था छ। तर यसको विश्वासनीयतामाथि पनि प्रश्न उठेको छ। आफूसित सर्वोच्च डिग्रीधारी हुँदाहुँदै पनि भाड़ाको सेना लगाएऱ आफ्नो मूल्याङ्कन निर्धारण गर्ने प्रवृत्तिमा थुप्रै उच्च शिक्षा संस्थानहरू लागिपरेका छन्। एनएएसीअनुसार मिडलम्यान वा एजेन्सीबिना परीक्षामा बस्न अनि एजेन्सीलाई लाखौँ लाखौँ रुपियाँ दिएर ग्रेड किन अधिकांश संस्थानहरू व्यस्त छन्।
हाम्रो देशमा पैसा नै सबथोक हो। नियम नमान्नु नै नियम हो। त्यसकारण विश्वसमक्ष जति नै चम्किलो छवि देखाइए पनि यथार्थमा छवि क्रमशः धुमिल बन्दै गइरहेको छ। उच्च शिक्षाको यो प्रयोग अनन्त जारी रहन सक्छ। जसका लागि यो परीक्षा हो तिनै विद्यार्थीहरू परम्परागत शिक्षाबाट क्रमशः विमुख बनिरहेका छन्। तर यस सत्यलाई अस्वीकार गर्दै हामी भने अघि बढ़िरहेका छौँ।