काठमाडौँ नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव बाढी प्रभावित रसुवाको स्याफ्रुबेसी पुगेका छन्।
चिलिमे जलविद्युत् आयोजनामा फसेका मानिसको उद्धार कार्यमा खटिएको भारतीय प्राविधिक टोलीलाई भेट्न र अरु जानकारी लिन राजदूत श्रीवास्तव स्याफ्रुबेसी पुगेका हुन्।
प्राविधिकसहितको भारतीय उद्धार टोलीले स्याफ्रुबेसीलाई आफ्नो स्टेसन बनाएर काम गरिरहेको छ। उनका अनुसार नेपाली सेनासँग मिलेर काम गरिरहेको भारतीय उद्धार टोलीले अहिलेसम्म चिलिमे जलविद्युत् आयोजनाको एक सय मिटर भित्रसम्म पहुँच पुर्याइसकेको छ।
अब सुरुङभित्र थप पस्न भारी उपकरण लैजाने तयारी गरिएको छ। दुवै देशको टोलीले निरन्तर काम गरिरहेको उनले उल्लेख गरेका छन्।
‘सुरुङभित्रको अवस्था निकै कठिन रहेको छ। दलदल जमिन र चुनौतीपूर्ण भू(बनोटबीच नेपाली तथा भारतीय टोलीले उद्धार तथा खोजीको काम अघि बढाइरहेका छन्,’ राजदूत श्रीवास्तवले एक्समा लेखेका छन्, ‘कठिन परिस्थितिका बाबजुद पनि दुवै देशका टोलीले निरन्तर र अविचलित रूपमा काम गरिरहेका छन्।’
