उत्तर सिक्किममा पैह्रो जाँदा सैयौँ पर्यटक अलपत्र

उत्तर सिक्किमका दुई प्रसिद्ध पर्यटन स्थल लाचेन र लाचुङ जाने सड़कहरू पैह्रोले क्षतिग्रस्त भएको कारण शुक्रवार दोस्रो दिन पनि सैयौँ पर्यटकहरू अलपत्र परेका छन्। उत्तर सिक्किममा वर्षाको मौसम नआई पैह्रो झर्ने क्रम आरम्भ भएको छ। हिजो बिहीवार बेलुकी वर्षाले उत्तर सिक्किमका धेरै स्थानहरूमा पैह्रो झरेर सड़क अवरुद्ध बनेको छ जसका कारण पर्यटकहरूले असुविधा झेल्नु परेको छ। बिहीवार दिउँसोदेखि लगातार परेको वर्षाको कारण आएको पैह्रोले गर्दा लाचेन–चुङथाङ सड़कको मुन्सिथाङ र लाचुङ–चुङथाङ खण्डको लेमा/बोब क्षेत्रका विभिन्न ठाउँहरूमा सड़कहरू क्षतिग्रस्त बनेको मगनका पुलिस अधीक्षक सोनाम दिछु भोटियाले जानकारी गराएका छन्।
पुलिस सूत्रबाट प्राप्त जानकारीअनुसार पर्यटक बोकेका लगभग 200 वाहनहरू र बीचमै अलपत्र परेका पर्यटकहरूलाई बिहीवार चुङथाङ गुरुद्वारा र आईटीबीपी क्याम्पमा राखिएको छ जसमा लगभग हजार पर्यटक थिए। तिनीहरूलाई शुक्रवार त्यहाँबाट निकालेर गान्तोक प्रस्थान गराइएको पुलिस अधीक्षक भोटियाले जनाएका छन्। लाचुङतर्फ पनि सड़क मार्गको कारण पर्यटनमा समस्या उत्पन्न भएको छ। अधिकारीहरूले जनाएअनुसार बिहीवार राति प्राप्त आधिकारिक सूचनाअनुसार, लाचेन-चुङथाङ सड़कको मुन्सिथाङ र लाचुङ-चुङथाङ खण्डको लेमा/बोबमा ठूलो पैह्रो गएको छ।

शुक्रवार उत्तर सिक्किमका लागि निर्धारित सबै यात्राका अनुमति रद्द गरिएको छ जसमा पहिले नै जारी गरिएका पर्यटन पासहरू पनि समावेश छन्। जिल्ला प्रशासनले सबै टुर अपरेटरहरूलाई कुनै पनि परिस्थितिमा शुक्रवार उत्तर सिक्किममा पर्यटकहरू नपठाउने निर्देश दिएको छ।अर्कातिर पर्यटन मौसम आरम्भ भएकाले लाचेन र लाचुङमा रहेका होटलहरू पूर्ण रूपले बुक छन् भने लाचेनका स्थानीय मानिसहरूले पनि लाचेनमा पर्यटकहरूको आवागमनलाई सहज बनाउन वैकल्पिक काठको पुलसमेत निर्माण गरेका छन्। उल्लेखनीय छ, 3 अक्टोबर 2023 मा आएको भेलबाट लाचेन सबैभन्दा अधिक प्रभावित भएको थियो। लाचेन लगभग डेढ़ वर्षदेखि सम्पर्क विच्छेद भएको थियो। मार्चदेखि आरम्भ भएको यस पर्यटन मौसममा लाचेनमा पर्यटकहरूको सङ्ख्यामा वृद्धि भएकाले टुर अपरेटर र होटल व्यवसायीहरू खुशी छन्। यद्यपि नियमित सड़क अवरोधले भने पर्यटनमा बाधा पुऱ्याइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *