सड़कमा राखिएको छ एउटा टेबल। टेबलमाथि थुप्रै पुराना लता-कपड़ा छन्। ब्यानरमा लेखिएको छ, आवश्यकताको आधारमा जो कसैले यी कपडा निःशुल्क लिन सक्नेछ। सिलगढ़ी नगरपालिकाको 16 नम्बर वार्डको हाकिमपाड़ा पालपाड़ा मोड़अघि जगदीशचन्द्र बसु रोड क्षेत्रमा कपड़ा राखिएको टेबल देख्न सकिन्छ। टेबल नजिक कोही नभएको कारण कसैले पनि सजिलै आफूलाई मन पर्ने कपड़ा लिएर जान्छन्। कोही छोराका लागि, कोही नातिनीका लागि त कोही आफ्नै लागि। यो सेवा हप्ताको एक दिन आइतवार दिउँसो 12 बजीदेखि 2 बजीसम्म उपलब्ध हुन्छ। यो मानवीय पहल सिलगढ़ी शहरका जेष्ठ नागरिकहरूको एउटा सङ्गठन मानविक मुखले आमर्भ गरेको हो। सङ्गठनका सदस्यहरूले झण्डै दुई महीनादेखि यस्तै कार्यक्रम चलाइरहेका छन्। सङ्गठनका तर्फबाट रथिन पालले भने, हाम्रो सङ्गठनमा 55 देखि 85 वर्ष उमेरका नागरिकहरू छन्। हामी हाम्रो सङ्गठनका सदस्य वा तिनका परिचितहरूबाट पुराना तर प्रयोगयोग्य कपड़ाहरु सङ्कलन गर्छौँ। त्यसपछि ती कपड़ाहरू आइतवार यहाँ टेबलमा राखिदिन्छौँ। तिनले थपे, त्यहाँ हामी आफै उपस्थित रहँदैनौँ कारण त्यसले मानिसहरूलाई असहज अनुभव गराउन सक्छ। दाता र प्राप्तकर्ताबीच सम्बन्ध बनाउने चाहना हामीमा छैन। हामी केवल मानिसहरूलाई थोरै सहयोग होस् भन्ने चाहन्छौँ।
तिनीहरूले यो काम गोप्य रूपमा गरिरहेका पुष्टि तब भयो जब कपड़ाको टेबल देखेर वरपरका पसलहरूमा सोधखोज गर्दा पनि त्यो टेबल कसले राखेको हो भनेर कसैले बताउन सकेन। टेबलबाट कपड़ा उठाइरहेकी एकजना वृद्धाले भनिन्, यो निकै राम्रो काम हो। एउटा ज्याकेट लिएँ। सोचेकै थिइनँ कि सड़कमा यसरी एउटा ज्याकेट भेटिनेछ। यस जाड़ोमा यो ज्याकेट मेरो छोराका लागि निकै उपयोगी हुनेछ। यस कामका अतिरिक्त सङ्गठनका बिजन घोष, श्यामाप्रसाद भट्टाचार्य, निखिल विश्वास, श्रीपद दास लगायत अन्य सदस्यहरूले विभिन्न समाजसेवाका काम, सांस्कृतिक कार्यक्रम, रचनात्मक गतिविधि पनि गर्दै आइरहेका छन्। सङ्गठनका अर्का सदस्य रथिन पालले भने, हाम्रो एउटा सानो क्लब छ जहाँ हामी सबैजना भेटघाट र कुराकानी गर्छौँ। सङ्गठनका सदस्यहरू मात्र नभई शहरका अन्य जेष्ठ नागरिकहरू पनि हाम्रो क्लबमा आउँछन्। हामी हाम्रो क्षमताअनुसार मानिसहरूलाई सहयोग गर्ने प्रयास गरिरहेका छौँ।
