बुटबलमा गर्भपतन मृत्य प्रकरणमा दुई चिकित्सकसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । गर्भपतन गराउँदा निजी क्लिनिकमा डुलाउँदा डुलाउँदै मृत्यु भएकी बगनासकाली गाउँपालिका–२ पाल्पा स्थायी घर भएकी गीता पाण्डे मृत्यु भएको हो ।
प्रमुख आरोपितको रुपमा रहेका खत्री नर्सिङ होम बुटवल इटाभट्टीका सञ्चालक समेत रहेका डा. डिबी खत्री र इन्दु लेखा स्वास्थ्य क्लिनिकका चिकित्सक डा. सतिष रुपाखेतीलाई प्रहरीले पक्राउ गरेको हो । यसअघि तीन जनालाई प्रहरीले पक्राउ परिसकेको छ । प्रहरीले इन्दुलेखाका सञ्चालक खगेन्द्रप्रसाद पाण्डेय, सन्ध्या बस्नेत र जोनल फार्मेसीका निलम घर्तीमगरलाई पक्राउ गरेर अनुसन्धान थालेको छ ।
तिलोत्तमा नगरपालिका–३ सुमेरुपथ रुपन्देहीमा बसोवास गर्दै आइरहेकी २९ वर्षीया मृतक पाण्डेलाई खत्री नर्सिङ होममा उनका श्रीमान प्रकाश पाण्डेले नियमित चेकजाँच गर्दै आइरहेका थिए । पेटमा १२ हप्ताको गर्भ हुँदा डा. खत्रीले असामान्य छ भनेपछि गर्भपतन गर्न सुझाव दिएका थिए । तर, खत्रीले सही उपचारको निकास नदिएर अन्यत्रका क्लिनिकमा पठाएपछि समस्या झन बल्झिदै गएको पीडित परिवारले जनाएका छन् ।
मृतकका श्रीमान प्रकाश पाण्डेले डा. खत्रीसहित अवैध गर्भपतन गराउन संलग्न पाँच जनालाई कारवाहीको माग गर्दै इलाका प्रहरी कार्यालय बुटवलमा किटानी जाहेरी दिएका थिए । गर्भपतन गराउनका लागि खत्री नर्सिङ होमले रिफर गरेको जोनल फार्मेसीले १६ हजार रुपैयाँ शुल्क लाग्ने बताएका थिए । अवैध रुपमा गर्भपतन गराउने र पैसा असुल्ने गिरोहले अनाहकमै महिलाहरुले ज्यान गुमाउनु परेको पीडितहरुले बताएका छन् ।
