यो अस्वीकार गर्न सकिन्न कि हाम्रो शहर सिलगढ़ी तीव्र गतिले विकास भइरहेको छ र पश्चिम बङ्गालको अघोषित दोस्रो राजधानीको रूपमा स्थापित भइरहेको छ। विकेन्द्रीकृत प्रशासनिक अवधारणालाई मूर्त रूप दिन सिलगढ़ी शहरसितै जोड़िएको क्षेत्रमा दोस्रो प्रशासनिक कार्यालय उत्तर कन्या स्थापित गरिएको छ। जिल्लाको पहाड़ी शहर दार्जीलिङमा राज्यको संवैधानिक प्रमुखको ग्रीष्मकालीन कार्यालय राजभवन अवस्थित छ। न्यायिक विकेन्द्रीकरणको परिणाम स्वरूप छेउको जलपाइगढ़ी जिल्लामा कलकत्ता उच्च न्यायालयको सर्किट बेञ्च स्थापना गरिएको छ। कानूनी व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन हालको आवश्यकता भनेको सिलगढ़ीमा राज्यको दोस्रो विधानसभा भवन निर्माण गर्नु हो। राज्य विधानसभाको ग्रीष्मकालीन अधिवेशनहरू सिलगढ़ीको सुन्दर वातावरणमा थप आकर्षक बन्नेछन्। समावेशी र दूरदृष्टियुक्त सरकारका लागि यो समयको माग हो। जनताको ढोकासम्म सेवा पुर्याीउने द्वारे सरकार नीति अझ सशक्त बनाउन यदि सिलगढ़ीमा दोस्रो विधानसभा भवन स्थापना गरिए दोस्रो सचिवालयको रूपमा उत्तर कन्या अझ प्रभावकारी र सक्रिय बन्नेछ।
क्षेत्रीय असमानताका कारण उत्पन्न असन्तुष्टि कम्ती गर्न तथा यहाँका जनतालाई मूलधारको राजनीतिसँग जोड्न सिलगढ़ीमा दोस्रो विधानसभा भवनले उत्प्रेरकको रूपमा कार्य गर्नेछ। यो सफल भए हाम्रो राज्य सरकारले अन्य राज्यहरूका लागि मार्गदर्शकको भूमिका निर्वाह गर्न सक्नेछ। स्वतन्त्रतापछि सिलगढ़ीको भौगोलिक र रणनीतिक महत्त्व निर्विवाद बढ़ेको छ। उत्तरपूर्वी भारतको प्रवेशद्वारको रूपमा परिचित सिलगढ़ी चिकेन नेकको भाग हो। राष्ट्रिय सुरक्षाको दृष्टिले सिलगढ़ीलाई केन्द्र बनाएर भारतीय सेना तथा वायु सेनाका शिविरहरू स्थापित भएका छन्। नेपाल, भूटान, बङ्गलादेश, म्यानमार तथा तिब्बती चीनतर्फ आजको प्रवेशद्वार सिलगढ़ी हो। राष्ट्रिय राजमार्ग, रेलमार्ग र हवाई मार्गबाट यो शहर देशका विभिन्न भागहरूसित प्रत्यक्ष रूपमा जोड़िएको छ।
राष्ट्रिय हितको हिसाबले सिलगढ़ीको महत्त्व लगातार बढ्दै गइरहेको छ। विस्तृत चियाबारीहरू, छेउछाउका पहाड़ी क्षेत्रहरू, हरियाली जङ्गल तथा स्वच्छ वातावरणले सिलगढ़ीलाई पर्यावरणमैत्री र पाहुनामैत्री शहर बनाएको छ। सिलगढ़ीको शहरीकरणको गति केवल पश्चिम बङ्गालका लागि होइन भारत तथा सम्पूर्ण एसियाका अन्य शहरहरूका लागि पनि अनुकरणीय बनेको छ। दार्जीलिङ, सिक्किम, नेपाल तथा तल्लो आसामको प्रमुख व्यापारिक केन्द्रको रूपमा सिलगढ़ी स्थापित छ। दैनिक रूपमा लाखौँ मानिसहरू विभिन्न उद्देश्यले यस शहरमा प्रवेश गर्छन्। यस शहरको पूर्वाधार मुख्य रूपमा निजी लगानीकर्ताहरूको पहलमा निर्माण भएको छ। आवास, होटल, सपिङ मल, शैक्षिक संस्था, नर्सिङ होम आदि सबै निजी लगानीमा आधारित छन्। यदि सिलगढ़ीलाई दोस्रो राजधानी घोषणा गरिए यहाँ लगानीको अवसर बढ्नेछ जसले रोजगारको सम्भावना समेत वृद्धि गर्नेछ। राज्य र केन्द्र दुवै सरकारले सिलगढ़ीलाई दोस्रो राजधानी बनाउने योजना अघि बढ़ाउँदै यसको पूर्वाधारको विकासमाथि ध्यान दिनु आवश्यक छ। केन्द्र सरकारले सिलगढ़ीलाई ‘स्मार्ट सिटी’ योजनामा समावेश गर्नु अत्यावश्यक छ। टेबल टेनिसको राजधानीको रूपमा चिनिने सिलगढ़ीमा अन्तर्राष्ट्रिय स्तरको इनडोर तथा आउटडोर स्टेडियम र स्थानीय जनताको स्वास्थ्य सेवाका लागि एम्स अस्पताल स्थापनाको आवश्यकता छ। उत्तर बङ्गालका जनताको मागलाई सम्मान गर्दै राज्य सरकारले सक्रियता देखाउने हो भने सिलगढ़ीलाई अझ सबल र सक्षम शहरका रूपमा विकास गर्न सकिने अपेक्षा गर्न सकिन्छ।
