सिलगढ़ीका वासिन्दा अमल पोद्दारको महाकुम्भ मेलामा दुःखद निधन भएको जानकारी प्राप्त भएको छ। मदानी बजारका वासिन्दा अमल पोद्दार आफ्नो क्षेत्रका तीर्थ यात्रीहरूको समूहसँग कुम्भ मेला तथा अन्य पवित्र स्थानहरूको दर्शन गर्न गएका थिए। प्राप्त रिपोर्टअनुसार अमल पोद्दारसितै तिनकी पत्नी कुम्भ मेलाको दर्शनपछि घर फर्कने योजना बनाइरहेका थिए।
तर श्वास-प्रश्वास सम्बन्धी समस्याको कारण अमलको दुःखद निधन भयो। तिनको परिवारलाई तत्काल जानकारी गराइएको थियो र तिनका छोरा भोलिपल्ट बिहानै उत्तर प्रदेशतर्फ प्रस्थान भएका छन्। यस घटनाले मदानी बजार क्षेत्र शोकमग्न बनेको छ। तिनका परिवार सदस्यहरूले अमल पोद्दार केही दिनदेखि श्वासप्रश्वास सम्बन्धी समस्याले ग्रसित रहेका बताएका छन्।
यता महाकुम्भमा शाही स्नान गएकी पञ्जाबी पाड़ाकी वासिन्दा रचना देवी (68) बेपत्ता बनेकी खबर प्राप्त भएको छ। प्राप्त खबरअनुसार रचना देवी आफ्ना छोरा अनि बुहारीसित महा कुम्भ मेलामा स्नान गर्न सिलगढ़ीदेखि गत 27 जनवरीको दिन उत्तरप्रदेश प्रस्थान गरेकी थिइन्।
29 जनवरीको बिहान 5 बजी बिहान प्रयागराज महाकुम्भ भएको कुदाकुदमा बुहारीको हातदेखि रचना देवी छुट्टिइन्। त्यसपछि तिनीबारे अहिलेसम्म कुनै सूचना प्राप्त भएको छैन। यद्यपि सिलगढ़ीमा यति बेला रहेकी रचना देवीकी नातिनीलाई प्रयागराजको स्वरूप रानी अस्पतालबाट घाइते भएर भर्ना व्यक्तिहरूको सूची प्राप्त भएको छ। उक्त सूचीमा रचना देवीको नाम उल्लेख भए पनि तिनकै बोजू रचना देवी हुन् कि होइनन् भनेर अहिलेसम्म पुष्टि हुन नसकेको नातिनीले बताएकी छन्। छोरा-बुहारी अहिले पनि प्रयागराजमै रहेर यथासम्भव प्रयास गर्दा पनि आमा रचना देवीबारे ठोस केही जानकारी प्राप्त हुन नसकेको फोनमार्फत जानकारी गराइएको पनि नातिनीले बताएकी छन्।