काठमाडौं बागलुङमा अविरल वर्षासँगै आएको बाढी पहिरोमा परी हालसम्म १२ जनाको मृत्यु भएको छ। एकजना महिला बेपत्ता छन्। जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार बाढीपहिरोमा परी ५ जना पुरूष,४ जना महिला र ३ जना बालबालिका गरी १२ जनाको मृत्यु भएको हो।
पहिरोबाट ठूलो भौतिक क्षति पनि भएको छ। ५१ वटा घरमा पूर्णरुपमा र ५१ वटा घरमा आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ। यसैगरी, १० वटा गोठ पूर्ण क्षति र १ वटा गोठ आंशिकरुपमा क्षति पुगेको छ।
वर्षाका कारण ३ वटा झोलुङ्गे पुल पूर्णरुपमा क्षति पुगेको छ। यस्तै प्रहरी कार्यालय २ वटा,हाइड्रोपावर २ वटा र विद्यालय १ वटामा आंशिकरुपमा क्षति पुगेको छ।
यसैगरी १ वटा वडा कार्यालय पूर्ण क्षति,१ वटा रिसोर्ट पूर्ण क्षति र १ वटा कृषि फार्म पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार क्षतिको थप विवरण संकलन तथा उद्धार कार्य जारी रहेकाले क्षतिको विवरण अझ बढ्न सक्नेछ।
