सरकारी जमीन कब्जा गरेको सत्ताधारी दलविरुद्ध आरोप

सरकारी जमीन कब्जा गरेर पार्टी कार्यालय बनाएको आरोप तृणमूल कङ्ग्रेसविरुद्ध उठेको छ। सिलगढ़ीको 31 नम्बर वार्डको शीतलापाड़ामा सत्ताधारी पार्टीले सरकारी जमीन कब्जा गरेको आरोप उठेको छ। यस घटनामा उक्त क्षेत्रका केही पार्टी नेताहरूको नाम मुछिएको छ। शीतलापाड़ा कम्युनिटी हलनजिक रहेको उक्त जमीनलाई अस्थायी रूपमा चारै दिशाबाट घेरेर इँटाको पर्खाल बनाएर एउटा कोठा निर्माण गरिएको छ। त्यहाँ केही बस्ने ठाउँ पनि बनाइएको छ। स्थानीय तृणमूल कार्यकर्ताहरूको एक हिस्सा नियमित त्यहाँ बसेको खबर छ। यसरी सरकारी जमीन कब्जा गर्ने प्रयासको घटनाले पार्टीको एउटा समूहसित स्थानीय वासिन्दाहरू क्षुब्ध छन्। सम्पूर्ण विषयको छानबिन गर्ने आश्वासन दार्जीलिङ जिल्ला तृणमूल कङ्ग्रेसकी सभापति पापिया घोषले दिएकी छिन्।
तर जमीन कब्जा गरी पार्टी कार्यालय बनाएको आरोपलाई 31 नम्बर वार्डका तृणमूल कङ्ग्रेस अध्यक्ष कौशिक दत्तले अस्वीकार गरेका छन्। तिनले भने, त्यस स्थानमा कुनै पार्टी कार्यालय बनाइएको छैन। को वा कसले त्यहाँ कोठा बनाइरहेको छ, त्यसबारे पनि थाहा छैन। पार्टीको तर्फबाट शीतलापाड़ा क्षेत्रमा एउटा खेलकुद कार्यक्रम गरिएको थियो। त्यो बेला प्रचारका लागि केही झण्डा र पोस्टरहरू त्यहाँ लगाइएको थियो।
सरकारी जमीन कब्जामा केही स्थानीय तृणमूल कार्यकर्ताको नाम आएको छ। ड्रेनको छेउको जमीनलाई बिस्तारै घेरेर काम गरिएको थियो। गत वर्षको अन्त्यतिर खाली जमीनमा कोठा बनाउने काम आरम्भ गरिएको थियो। अहिले उक्त स्थानमा झण्डा राख्नको निम्ति एउटा चबुतरा पनि बनाइएको छ। तृणमूल कङ्ग्रेसका विभिन्न पोस्टरहरू त्यहाँ राखिएको छ। स्थानीय वासिन्दा सन्तु बनिकले भने, उक्त जमीन कब्जा गरिएको छ भने त्यसमा तृणमूलका केही व्यक्ति संलग्न नरहेको भन्न सकिन्न। त्यहाँ पार्टी कार्यालय बनाउने योजना बनाइएको छ। यसमा केही स्थानीय मानिसहरू सामेल छन्। साबित्री मण्डल नामकी महिलाले भनिन्, त्यस स्थानलाई कब्जा गर्ने योजनालाई धेरै पहिलेदेखि ध्यानमा राखिएको थियो। त्यसैले बिस्तारै जमीन घेरिएको हो। त्यसलाई 31 नम्बर वार्डको शीतलापाड़ा तृणमूल कङ्ग्रेस नाम दिइएको छ। कौशिकले थपे, शक्तिगढ़ पानी ट्याङ्कीनजिक हाम्रो एउटा मात्र पार्टी कार्यालय छ। जुन जमीनको चर्चा भइएको छ त्यहाँ धेरै पहिले कङ्ग्रेसले शहीद स्मरणमा झण्डा फहराउँथ्यो। वार्डका केही तृणमूल कार्यकर्ताहरूअनुसार यसरी सरकारी जमीन कब्जा गरिए सर्वसाधारणमा पार्टीको छवि खराब हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *