वनसम्बन्धी कानुनी जटिलता हटाउने र आवश्यक कानुनी सुधार गर्ने विषयमा आज ६ जना मन्त्रीको उपस्थितिमा अन्तरमन्त्रालयगत छलफल भएको छ ।
विकास र वातावरण संरक्षणबीच सन्तुलन कायम गर्दै नेपालको पर्यटन क्षेत्रलाई आर्थिक समृद्धिको आधार बनाउने विषयमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा अन्तरमन्त्रालयगत छलफल भएको छ।
छलफलमा नेपालको हिमाल, पहाड, नदी, तालतलैया, वनजङ्गल तथा जैविक विविधतालाई पर्यटन विकास र आर्थिक समृद्धिको महत्वपूर्ण स्रोतका रूपमा उपयोग गर्ने विषयमा जोड दिइएको छ। विशेषगरी साहसिक पर्यटनका क्षेत्रमा नेपालले अन्तर्राष्ट्रियस्तरमा विशिष्ट पहिचान बनाउन सक्ने सम्भावनाबारे छलफल भएको छ।
राष्ट्रिय निकुञ्ज, संरक्षण क्षेत्र, वन क्षेत्र तथा जग्गाको उपयोगसँग सम्बन्धित विद्यमान कानुनी र प्रक्रियागत जटिलताका कारण पर्यटन पूर्वाधार निर्माण, सञ्चालन तथा विस्तारमा देखिएका अवरोध हटाउने विषय पनि छलफलको प्रमुख एजेन्डा रहेको थियो।
छलफलमा गृहमन्त्री सुधन गुरुङ, विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल, कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह थिए । प्रधानमन्त्रीका नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदिप ढकाललगायत सम्बन्धित निकायका पदाधिकारीहरूको पनि सहभागिता थियो ।
बैठकमा पर्यटन पूर्वाधार निर्माण, साहसिक पर्यटनको प्रवर्धन, नवीन उद्यमशीलताको विकास, लगानीमैत्री वातावरण निर्माण तथा प्राकृतिक सम्पदाको दिगो उपयोगका लागि आवश्यक कानुनी एवं नीतिगत सुधारका विषयमा छलफल गरिएको थियो। प्राकृतिक सम्पदा र जैविक विविधताको संरक्षणलाई प्राथमिकतामा राख्दै पर्यटन विकासका सम्भावनालाई आर्थिक अवसरमा रूपान्तरण गर्ने, स्थानीय रोजगारी सिर्जना गर्ने तथा अन्तरमन्त्रालयगत समन्वय प्रभावकारी बनाउने विषयमा जोड दिइएको छ।
संरक्षण र विकासबीच सन्तुलन कायम गर्दै नेपालको प्राकृतिक सम्भावनालाई आर्थिक समृद्धिसँग जोड्ने उद्देश्यसहित विद्यमान कानुनी जटिलता र प्रक्रियागत अवरोध हटाउन आवश्यक पहल गर्ने विषयमा छलफल केन्द्रित रहेको थियो।
